पहिरापीडित परिवारलाई इलामको फाकफोकथुम गाउँपालिकाले नगद सहयोग गरेको छ । गत कात्तिकको पहिलो हप्ता आएको बेमौसमी वर्षाबाट सो स्थानमा पहिरो गएको थियो । पहिरोका कारण परिवारका सदस्य गुमाएका परिवारलाई गाउँपालिकाले रु चार लाख सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई र वडाध्यक्ष राजु पौडेलले नैनसिंह कटुवाल परिवारको घरमै पुगेर सो रकम हस्तानतरण गर्नुभएको हो । पहिराका कारण कटुवाल परिवारका चार जनाको मृत्यु भएको थियो । साथै गाउँपालिकाको तर्फबाट घर निर्माणका लागि रु एक लाख थप सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

सरकारले पहिराका कारण मृत्यु भएका परिवारलाई यसअघि नै प्रतिमृतक रु दुई लाख नगद दिने घोषणा गरेको छ । बेमौसमी वर्षासँगै कात्तिक २ र ३ गते पहिरामा परी फाकफोकथुम–३ का एउटै घरका चार जनाको सुतेकै ठाउँबाट पहिराले बगाएर मृत्यु भएको थियो । सो परिवारलाई राहत वितरण भइसकेको छ । फाकफोकथुम– १ का दुई जना मृतकका परिवारलाई पनि राहत दिने तयारी भइरहेको जनाइएको छ ।
बाढीपहिरामा परी फाकफोकथुम गाउँपालिकामा मात्र छ जनाले ज्यान गुमाएका थिए । यसमा फाकफोकथुम–३ का ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षीय निश्चित कटुवाल रहनुभएको छ । फाकफोकथुम–१ का ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई रहनुभएको छ । जिल्लामा पहिराका कारण १५ जनाको ज्यान गएको थियो । यसअघि नै पीडितको घरमै पुगेर सरकारको तर्फबाट राहत वितरण भइसकेको छ ।
यो पनि – दुर्घटनामा एक जनाको मृत्यु,दुई घाइते
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बा४४प ९८३६ नंको पल्सर मोटरसाइकल र बा६३प ४८३४ नंको स्कुटर एकापसमा ठोक्किएर मोटरसाइकललाई ना६ख ७४९ नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजमार्गमा दुर्घटना भएपछि एक घण्टा यातायात अवरुद्ध भएको थियो । सवारी साधन हटाएपछि यातायात साधन सुचारु भएका छन् ।



प्रतिक्रिया