राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गर्नुभएको छ । सो अवसरमा उहाँले रु ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्नुभएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डा रावलले बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, डा गुणराज लोहनी र डा रमेश ढकालको सहभागिता रहेको थियो ।
यो पनि – राष्ट्रपति भण्डारी जुम्लामा
राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आइपुग्नुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आज बिहान ११ः२० बजे जुम्ला आइपुग्नुभएको हो ।उहाँ प्रतिष्ठानबाट ७०० मिटर टाढा सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको नन्दबक्स गणमा रहनुभएको र त्यहाँबाट राष्ट्रपति भण्डारी पैदलै कार्यक्रमस्थल आउन लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो ।
“राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ,” डा रावलले भन्नुभयो, “त्यसपछि रु ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनकोसमेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।”



प्रतिक्रिया