फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म एक लाख ४६ हजार बढीको नाम दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार हालसम्म एक लाख ४६ हजार ८२ जनाले आफ्नो नाम दर्ता गराएका हुन् ।विसं २०७७ पुस ५ सम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या एक लाख ४४ हजार ९०२ रहेका छन् । तीमध्ये ७२ हजार ३४१ पुरुष, ७२ हजार ५५९ महिला र दुई जना तेस्रोलिङ्गी रहेका छन् । त्यसपछि हाल पालिकास्तरमा सञ्चालन भइरहेको विशेष कार्यक्रमअन्तर्गत एक हजार १८० जनाले नाम दर्ता गराइसेकेका छन् ।
निर्वाचन आयोगले यही मङ्सिर १७ गतेदेखि देशभरिका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो । विसं २०७७ पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिको सङ्ख्या भने एक लाख ४१ हजार ८९५ रहेको जनाइएको छ । १६ वर्षमा नेपाली नागरिकता बनाउने र १६ वर्षदेखि नै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि मतदान गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।
गएको पुस ५ गते सङ्घीय संसद् विघटनपश्चात मतदाता नामावली सङ्कलनको काम रोकिएकोमा त्यसपछि गत वैशाखदेखि पुनः सुरु भएर जेठ ८ सम्म सञ्चालन भएको थियो । त्यसपछि साउन १ गतेदेखि पुन ः नामावली सङ्कलनको कार्य सञ्चालन भइरहेको छ ।हाल पालिकास्तरमा सञ्चालनमा रहेको नामावली सङ्कलन विशेष कार्यक्रम पुस ८ गतेसम्म सञ्चालन हुने छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने प्रमुख फुयाँलले बताउनुभयो ।आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रह समेत गरिएको छ ।
यो पनि – एक सभापति, एक सह–महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सभापतिमा मनोनयन दर्ता गराउनुभएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै सह–महामन्त्रीमा मनोनयन दर्ता गराउनुभएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मध्याह्न १२.३० बजेसम्म निर्धारण गरिएको थियो ।
अहिलेसम्म सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिइसक्नुभएको छ भने अझै केहीको नाम फिर्ता हुनसक्ने बताइएको छ । महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो । नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेको छ ।
यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो ।
प्रतिक्रिया