मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग

मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु पाँच लाख ३५ हजार शनिबार उहाँकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो ।

नियमित डायलासिसका लागि पैसा नभएपछि उहाँका परिवारजनले सहयोगको याचना गरेका थिए । अर्थाभावमा उपचारबाटै वञ्चित हुनुपर्ने स्थिति देखेपछि सुनारलाई आर्थिक सहायता प्रदान गरिएको समितिका उपाध्यक्ष हिमाल कँडेलले बताउनुभयो । जापानमा रहेका नेपालीहरुबाट सो रकम जुटाइएको उहाँको भनाइ छ ।

अस्पतालको शय्यामा रोगसँग जुधिरहेकी छोरीका लागि प्रवासी नेपालीले पठाएको आर्थिक सहयोग बुझ्दा लालमाया भावुक बन्नुभएको थियो । सुनारको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सहयोग जुट्दै गएमा छोरीको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ की भन्ने आशमा लालमाया हुनुहुन्छ । उहाँ १५ वर्षदेखि श्रीमान्बाट अलगिएर माइतीमा बस्दै आउनुभएको छ । मिर्गौलापीडित छोरी मुनासहित चार सन्तान र ९८ वर्षीया आमाको लालनपालनको अभिभारा लालमायाकै काँधमा छ ।

दैनिक ज्यालामजदुरी गरेर परिवार धान्ने उहाँलाई छोरी रोगले थलिएपछि अर्को बज्रपात परेको छ । उपचारमा लाग्ने लाखौँ खर्च कसरी जुटाउने भन्ने पिरलो छ । मुना कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । रोगले सताएपछि उहाँको पढाइ पनि प्रभावित बनेको छ ।

यो पनि – बद्रीनाथ अभिनव छन्दोवद्ध कविता पुरस्कार दुई स्रष्टाला

अभिनव साहित्य समाजले बद्रीनाथ अभिनव छन्दोवद्ध कविता पुरस्कारबाट दुई स्रष्टालाई सम्मानित गरेको छ । समाजले २०७७÷७८ का लागि उत्कृष्ट कविता प्रस्तुत गर्ने कविहरु क्रमशः बद्रीप्रसाद सुवेदी (बदीबल्लभ विप्र) र सम्पतकुमार काफ्लेलाई नगद पुरस्कारसहित सम्मान अर्पण गरेको हो । दुवै स्रष्टालाई रु पाँच हजार नगदसहित प्रमाणपत्रले सम्मानित गरिएको हो ।

सो अवसरमा कवि बद्रीनाथ आचार्य र हालै कोरोना भाइरसका कारण असामयिक निधन हुनुभएका साहित्यकार तथा आयुर्वेद विशेषज्ञ शेषराज दीक्षित आचार्यप्रति श्रद्धाञ्जलिसभाको आयोजना गरिएको थियो । दुवै साहित्यकारसहित समाजसेवी बद्री सुवेदीप्रति पनि तस्बिरमा माल्यार्पण, पुष्पार्पण तथा उहाँहरुको कृतित्व तथा व्यक्तित्वको बारेमा प्रकाश पार्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

समाजको २३८औँ साहित्यिक शृङ्खलाअन्तर्गत विशेष कवि गोष्ठी पनि गरिएको थियो । समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा विशेष कवि गोष्ठी आयोजना गर्दै आएको छ । कार्यक्रममा प्रा डा रामप्रसाद ज्ञवाली, उपप्रा ज्ञाननिष्ठ ज्ञवाली, गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायणबहादुर सुवेदी, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, उपाध्यक्ष विमल अर्याललगायतले कविता थोरै शब्दमा धेरै कुरा समेटिएको हुनुपर्ने र आकर्षक, सौन्दर्यचेतक तथा युगबोध झल्काउने खालका छोटा रचना समयसापेक्ष हुनेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा मेनका आचार्य पोखेरेल, रुद्र अधिकारी, सुशील आचार्य, घनश्याम प्रसाइँ, खोलाघरे साइलो, रामेश्वर श्रेष्ठ शैलेन्द्र, पवन सङ्ग्रौला, रामकुमार पण्डित, वसन्त रिजाल, कात्यायन, डिल्लीराज अर्याल, बाजुराम पौडेल, कणाद महर्षि, मञ्जुश्री प्रधान केसी, सीता विष्ट कार्की, महेशकुमार पुडासैनी, अच्युत चालिसे, रेशु गौतमाचार्य, ओम कोइराला, गोविन्द सङ्गतलगायत एकाउन्नजनाले रचना पाठ गर्नुभएको थियो ।