५० करोड लगानीमा बुटवलमा बुटिक होटेल

५० करोड लगानीमा बुटवलमा बुटिक होटेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देहीको बुटवलस्थित मिलनचोकमा रु ५० करोड लगानीमा पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ ।  जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याउनुभएको छ । साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल हो ।

होटेलमा ४ स्वीट रुम र ३६ डिलक्स रुम छन् । होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले युरोपियन पर्यटकलाई पनि आकर्षित गर्ने सञ्चालक रानाले बताउनुभयो । होटेलमा सय जना क्षमताको दुई सभाहल, ग्राउन्ड फ्लोरमा फाइन डाइनिङ रेष्टुरेन्ट, माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेसमा रेष्टुरेन्ट रहेका छन् ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको अवस्थामा पनि मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन भएकाले आत्मविश्वासका साथ बुटिक होटेलमा लगानी गरिएको उहाँले उल्लख गर्नुभयो । होटेलले आफ्ना पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, पाल्पाको रानीमहल, लुम्बिनीलगायतका स्थानमा घुमाउन र ती स्थानको पर्यटन प्रवद्र्धन गर्न टुर प्याकेज पनि सञ्चालन गर्ने योजना बनाएको बताइएको छ ।

“निजी क्षेत्रबाट होटेल पर्यटनमा जसरी ठूलो मात्रामा लगानी भएको छ, त्यसरी नै सरकारले पर्यटनमैत्री नीति बनाउन आवश्यक छ” उहाँले भन्नुभयो । होटलमा ५० बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । रुपन्देहीका होटेलमा मात्रै झन्डै रु २५ अर्बको लगानी रहेको बताइएको छ । यहाँ साना–ठूला गरी दुई हजार ५०० होटेल छन् । त्यसमध्ये १५० भन्दा बढीस्तरीय होटेल सञ्चालनमा रहेको होटेल व्यवसायी सङ्घ रुपन्देहीले जनाएको छ ।

यो पनि – कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र एघार सय बुथ

नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो । महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ÷शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ ।

मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ । मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो ।
–––