मैले हारेँ भने हारेको मान्छे प्रधानमन्त्री भइरहन मिल्दैन भन्छन् मात्र भनेको हुँ : प्रधानमन्त्री देउवा

मैले हारेँ भने हारेको मान्छे प्रधानमन्त्री भइरहन मिल्दैन भन्छन् मात्र भनेको हुँ : प्रधानमन्त्री देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अहिले नेपाली कांग्रेसको सभापति मात्र नभएर नेपालको प्रधानमन्त्री पनि भएकाले आफूले पार्टी सभापति हार्दा देशको प्रधानमन्त्रीले नै हारेको अर्थ लगाएर आफूलाई हटाउने खेल हुनसक्ने आशङ्का व्यक्त मात्र गरेको स्पष्ट गर्नुभएको छ ।

उहाँले आज बिहानको एक कार्यक्रममा आफूले जित्नैपर्ने भनेको भनी प्रचार गरिएको विषयको खण्डन गर्दै यदि आफूले सभापतिको निर्वाचन हारेमा प्रधानमन्त्रीबाट पनि हटाउने प्रयास हुनसक्ने र देशको प्रधानमन्त्रीले हार्यो भनेर नैतिकताको प्रश्न उठाउन सक्नेतर्फ आफूले जानकारी मात्र गराएको बताउनुभएको हो ।

उहाँले आज नेपाली कांग्रेस बाग्मती प्रदेशद्वारा आयोजित कार्यक्रममा भन्नुभयो, ‘‘यहाँँ सभापति हार्ने जित्नेभन्दा पनि प्रधानमन्त्री हार्ने जित्ने हो भन्ने सन्दर्भमा मैले भनेको हुँ, म अहिले सभापति छु, प्रधानमन्त्री पनि छु, सभापतिमा हारेँ भने प्रधानमन्त्री हा¥यो भन्छन्, नैतिकताको कुरा उठाउँछन् । यो सरकार चुनावसम्म नजान पनि सक्छ । मैले जित्नुको अर्थ चुनावसम्म यही सरकार हुन्छ र त्यसपछि भोलि गाउँदेखि केन्द्रसम्म कांग्रेसको बहुमतको सरकार हुन्छ भनेको हो ।’’

उहाँले आफ्नो पार्टीभित्र र बाहिरका साथीहरूको सहयोगबाट आफूले केपी शर्मा ओलीको डर, त्रासबाट देश र जनतालाई मुक्त गराएको स्मरण गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो “सार्वभौम जनता कसैसँग डराउनु हुँदैन तर हिजो गाउँ–गाउँमा हाम्रा साथीहरू डराउनुपर्ने अवस्था ल्याइएको थियो । अहिले मैले ओलीको त्यो डर त्रासबाट हाम्रा साथीहरुलाई मात्र नभएर देशलाई नै मुक्त गराएको छु । यस्तै अवस्था अब रहीरहनका लागि पनि मैले सभापति जित्नुपर्छ भन्ने पसङ्ग मात्र निकालेको हो ।”

उहाँले आफूलाई सहयोग गरेकामा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई धन्यवाद पनि दिनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो “सिटौलाजी उहाँ आफू पदाधिकारीमा नबसेरै, सदासयता राखेर हामीलाई सहयोग गर्नुभएको छ, म उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु ।”
–––

यो पनि -तीनै तहमा कांग्रेसको सरकार बनाउन लागेको छु : सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले आगामी निर्वाचनबाट तीन तहका कांग्रेसका सरकार बनाउन आफू लागेको बताउनुभएको छ । नेपाल महिला सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आगामी तीनै तहका निर्वाचनमा विजय प्राप्त गर्ने कांग्रेसको लक्ष्य रहेको बताउँदै त्यसका लागि आफू लागि परेको उल्लेख गर्नुभयो । साथै उहाँले आफूलाई सभापतिमा पुनः विजयी गराउन पनि सबैलाई आग्रह गर्नुभयो । पार्टीको १४औँ महाधिवेशनमा उहाँले सभापति पदमा उम्मेदवारी दिनुभएको छ ।

महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि मतदान हुँदैछ । प्रधानमन्त्री देउवाले कांग्रेसले पार्टीमा महिला सहभागितालाई उच्च स्थान दिएको उल्लेख गर्दै विधानमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको बताउनुभयो । पार्टी विधानमा महिलासहित अन्य समावेशीको सहभागिता सुनिश्चित गरिएको बताउँदै उहाँले यस्तो समावेशी पार्टी अरु कोही नभएको जानकारी दिनुभयो । उहाँले पार्टीमा महिला सहभागिता बढाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा समावेशी व्यवस्थासहितको संविधान जारी गरिएको बताउँदै संविधानले राज्यका उच्च पददेखि सबै निकायमा महिला सहभागिता सुनिश्चित गरेको बताउनुभयो । साथै उहाँले स्थानीय सरकारमा ४१ प्रतिशत सहभागिता प्रतिनिधित्व भएको जानकारी गराउनुभयो ।