कांग्रेसभित्र सामूहिक नेतृत्वका लागि मेरो उम्मेदवारी : डा कोइराला

कांग्रेसभित्र सामूहिक नेतृत्वका लागि मेरो उम्मेदवारी : डा कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसभित्र सामूहिक नेतृत्वका लागि सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । उहाँले आज साँझ पत्रकार सम्मेलन गरी पार्टीभित्र सामूहिक नेतृत्वका लागि आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको हो । “पार्टीभित्र भ्रातृ तथा शुभेच्छुक संस्थालाई सुदृढ र जिम्मेवार बनाउन तथा गतिशील एवम् ऊर्जाशील कांग्रेस निर्माणका लागि उम्मेदवारी प्रस्तुत गरेका हाँै,” कोइरालाले भन्नुभयो । उहाँले पार्टीलाई जवाफदेही र पारदर्शी बनाउनका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । पार्टीभित्रको गुट, उपगुट र भागबन्डामा नलाग्न कार्यकर्तालाई कोइरालाले आग्रहसमेत गर्नुभयो ।

“पार्टी जनताप्रति उत्तरदायी हुनुप¥यो, सरकार र गठबन्धनलाई अझै मजबुद बनाउनतर्फ हाम्रो नेतृत्व लाग्नेछ, विगतको इतिहासलाई सम्झेर हामीलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो । पार्टीभित्रका अनुभवी नेताको अनुभवलाई लिएर अगाडि बढ्ने कोइरालाको भनाइ थियो । उपसभापतिका उम्मेदवार डा चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार गगनकुमार थापालगायतले सोमबार हुने निर्वाचनमा कांग्रेसलाई विजयी गराउनका लागि सबैलाई समेट्ने र कांग्रेस निर्माण गर्ने बताएका थिए ।

यो पनि – तीनै तहमा कांग्रेसको सरकार बनाउन लागेको छु : सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका शेरबहादुर देउवाले आगामी निर्वाचनबाट तीन तहका कांग्रेसका सरकार बनाउन आफू लागेको बताउनुभएको छ । नेपाल महिला सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आगामी तीनै तहका निर्वाचनमा विजय प्राप्त गर्ने कांग्रेसको लक्ष्य रहेको बताउँदै त्यसका लागि आफू लागि परेको उल्लेख गर्नुभयो । साथै उहाँले आफूलाई सभापतिमा पुनः विजयी गराउन पनि सबैलाई आग्रह गर्नुभयो । पार्टीको १४औँ महाधिवेशनमा उहाँले सभापति पदमा उम्मेदवारी दिनुभएको छ ।

महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि मतदान हुँदैछ । प्रधानमन्त्री देउवाले कांग्रेसले पार्टीमा महिला सहभागितालाई उच्च स्थान दिएको उल्लेख गर्दै विधानमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको बताउनुभयो । पार्टी विधानमा महिलासहित अन्य समावेशीको सहभागिता सुनिश्चित गरिएको बताउँदै उहाँले यस्तो समावेशी पार्टी अरु कोही नभएको जानकारी दिनुभयो । उहाँले पार्टीमा महिला सहभागिता बढाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा समावेशी व्यवस्थासहितको संविधान जारी गरिएको बताउँदै संविधानले राज्यका उच्च पददेखि सबै निकायमा महिला सहभागिता सुनिश्चित गरेको बताउनुभयो । साथै उहाँले स्थानीय सरकारमा ४१ प्रतिशत सहभागिता प्रतिनिधित्व भएको जानकारी गराउनुभयो ।

यो पनि – अहिलेको परिस्थितिमा मैले सभापतिमा जित्नुपर्छ : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताउनुभएको छ ।  महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू सभापति निर्वाचित भएका पार्टीमा सबैका माग पूरा गर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिबद्धतासमेत जनाउनुभयो ।

“हिजोको सरकार हुँदा कस्तो हालत थियो, तपाँइहरुलाई थाहा नै छ र अहिले कति हलुका भएको छ, त्यसैले अहिलेको बेला यो कांग्रेसले जित्न जरुरी छ, कांग्रेसले जितेको खण्डमा मात्रै देशलाई अघि बढाउन सकिन्छ, त्यसका लागि यो महाधिवेशन महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “सभापतिमा मैले पनि उम्मेदवारी दिएको छु, अत्यधिक बहुमतले मलाई जिताउनुभयो भने अवस्य नै म सम्पूर्ण मागहरु पूरा गर्नेछु ।”

उहाँले आफू पार्टी सभापति भएको खण्डमा अहिलेको सरकार टिकिरहने र राष्ट्रिय निर्वाचन पनि यही सरकारले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ, आफूले सभापतिमा हारेको खण्डमा नैतिक रुपमा बसिरहन मिल्दैन भनेर सबैले हल्ला गर्नेवाला छन्, त्यसैले पनि अहिलेको परिस्थितिमा सभापति जित्नैपर्ने आवश्यकता छ ।”

राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने र प्रजातन्त्रबिनाको देश कल्पना गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यो आफ्नो अन्तिम बेला भएको तथा सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकाले पनि जित्नैपर्ने दबाब रहेको दोहो¥याउनुभयो ।

प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सरकार बनाउने बताउनुभयो । “अहिलेको परिस्थितिमा मैले कसैलाई मेरो खिलापमा मेरो विरोध गरेको होइन, तर मेरो यो अन्तिम बेला हो, आफूले सभापतिमा जितेको खण्डमा मात्रै यो पार्टीलाई नेपालमा पूरा सबै पार्टीलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरुको सहभागितामा सरकार बनाउन सक्नेछु”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको संविधान बचाउन, आदिवासी, जनजातिको हकअधिकार सुनिश्चित् गर्न, महिलालाई उचित अधिकार प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । संविधानले देशमा भएका सबै जनजातिको भावनालाई समेटेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले पनि आदिवासी, जनजातीलगायतका सबैभन्दा पछाडि परेको कर्णाली, दलित, जनजाती, मुस्लिम, महिला सबैलाई आरक्षणको व्यवस्था गरेको बताउनुभयो ।