जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कर्णाली राजमार्गदेखि कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति दिएको हो । जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्ग र कर्णाली करिडोरबाट यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि अबका दिनमा जिल्ला सदरमुकाम मान्म, सुर्खेत र नेपालगञ्जलगायत ठाउँबाट मजौला खालका सवारी साधन सिधैँ गाउँ–गाउँमा पुग्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कालीकोटले यातायात समितिका पदाधिकारी, राजनितिक दल, सरोकारवालासँग छलफल गरेर जिल्लाको सदरमुकाम मान्मदेखि शुभकालिका गाउँपालिकाको भर्ता, नरहरिनाथ गाउँपालिका–८ र ९ लालु, वडा नं १,२ र ३ कोडवाडा–कुमालगाउँ, सान्नी त्रिवेणी गाउँपालिका–६, ७ मेहलमुडी, घाटाचौर, पलाँता गाउँपालिका, रास्कोट नगरपालिकाका स्थानीय सडकमा सार्वजनिक यातायातका साधन सञ्चालनका लागि अनुमति दिने निर्णय गरेका छन् ।
नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका र शुभकालिका गाउँपालिकामा यातायातका साधन सञ्चालनको अनुमति नहुँदा यात्रुले सास्ती खेप्नुपरेको र यात्रुलाई सिधँै गाउँ–गाउँमा पुग्न सजिलो होस् भनेर साना तथा मझौला खालका यातायातका साधन सञ्चालनका लागि अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
कर्णाली करिडोरको खुलालु पुल बनेको र सुर्खेत, नेपालगञ्ज, मान्मलगायतका ठाउँबाट सिधँै कर्णाली करिडोरमा गाडी सञ्चालन गरेपनि वैधानिक रुपमा यातायातका साधन सञ्चालन हुनसकेको थिएन् । शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका र पलाता गाउँपालिकामा नियमित रुपमा यातायात सञ्चालन गर्ने अनुमति दिइएको र बिहान गाडी छुट्ने र बेलुकी सोही गतव्यमा फर्किने गरी यातायातका साधन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
यो पनि – भ्यूटावर निर्माणमा जुट्दै मिर्छुलुङवासी
भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा चन्दा सङ्कलनबाट भ्यूटावर निर्माण गरिने भएको छ । गाउँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले देशविदेशमा रहनुभएका स्थानीयसँग चन्दा सङ्कलन गरेर भ्यूटावर निर्माण गर्न लागिएको हो । होमस्टे सञ्चालन गरेर ख्याति कमाएको मिर्छुलुङ गाउँमा पर्यटकलाई प्राकृतिक दृश्यावलोकन गराई थप आर्कषणको स्थल बनाउने योजनाअनुरुप टावर निर्माण गर्न लागिएको हो । भ्यूटावर निर्माणपश्चात् गाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने र आयआर्जनमा समेत सहज हुने विश्वास गरिएको मिर्छुलुङ क्षेत्र विकास तथा मिर्छुलुङ भ्यूटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताउनुभयो ।
सोही ठाउँमा जन्मिएर हाल युकेमा रहनुभएका महेन्द्र आलेको सक्रियतामा गाउँमा भ्यूटावर निर्माण गर्न प्रक्रिया अघि बढाइएको छ । महेन्द्रको पहलमा प्रवासमा रहेका नेपालीबाट रु ३० लाखभन्दा बढी रकम सङ्कलन गरिसकिएको छ ।
साराङकोट निर्माण सेवा प्रालीले भ्यूटावर निर्माणका लागि जिम्मा पाएको छ । प्रालीले रु ३८ लाख चार हजार ९०० को लागतमा निर्माणको लागि जिम्मा पाएको हो । विसं २०७९ वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको मिर्छुलुङ होमस्टेका अध्यक्षसमेत रहनुभएका थापाले बताउनुभयो ।
आदिवासी जनजातिको बाहुल्यता रहेको उक्त बस्तीमा सञ्चालित होमस्टेमा आउने पाहुनालाई आफ्ना कलासंस्कृति प्रदर्शन गरेर भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन् । गाउँमा कृषि र पर्यटनलाई प्रवद्र्धन गरी बसाइँसराइले रित्तो बन्दै गएका गाउँका बस्तीमा पुनःगाउँमै फर्काउन सहज हुने स्थानीयवासीले विश्वास गरेका छन् । मिर्छुलुङको शक्तिपीठका रुपमा रहेको भैरव भगवान्को मन्दिरसमेत निर्माण गर्न लागिएको छ ।



प्रतिक्रिया