नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीयतहमा कमिटी गठन गर्ने अभियान अन्तर्गत हालसम्म नौ स्थानीय तहमा कमिटी गठन गरिएको हो । हालसम्म शिवनाथ, डिलाशैनी, सिगास, दोगडाकेदार, सुर्नया गाउँपालिका, पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले जानकारी दिनुभयो । शिवनाथ गाउँपालिकामा वीरभान मेहताको अध्यक्षतामा ६५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ ।
डिलाशैनीमा दीपक धामीको अध्यक्षतामा ५१ सदस्यीय, सिगासमा खेमसिंह धामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । पाटन नगरपालिकाको अध्यक्षमा लोकेन्द्र विष्टसहित ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१, मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।
गठन गरिएका सबै पालिकामा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मङ्सिर महिनाभित्र नेतृत्व चयन गरिने नेकपा एकीकृत समाजवादी बैतडीले जनाएको छ । एमालेसँग विभाजन भएपछि सो पार्टीले सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ ।
मङ्सिरमा सबै पालिकामा सङ्गठन विस्तार गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्नाले बताउनुभयो । एमालेमा रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो । महादेव भट्ट अध्यक्ष रहेको १५१ सदस्यीय उक्त समानान्तर कमिटी समाजवादीमा समाहित भएको हो ।
यो पनि – मतदानमा स्वविवेक प्रयोग गर्नुस् : महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्नुभएको छ । महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबैै मतदातालाई पनि स्वविवेक प्रयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले सभापति र पदाधिकारीका लागि हाल प्रतिस्पर्धामा रहेका कुनै प्यानलमा पनि आफू नरहेको र आफूले स्वतन्त्ररुपमा आफ्नो मतदानको प्रयोग गर्ने बताउनुभयो । कांग्रेस महाधिवेशनअन्तर्गत आज मतदानको कार्यक्रम तोकिएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतपत्र छाप्न ढिलाइ भएकाले ढिलागरी मतदान सुरु भएको हो ।
कांग्रेसको १४औँ महाधिवेशनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि मतदाता छन् । यी प्रतिनिधिले आगामी चार वर्षका लागि काँग्रेसको नयाँ नेतृत्व छनोट गर्नेछन् । महाधिवेशनमा सभापतिका लागि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र कल्याणकुमार गुरुङले उम्मेदवारी दिनुभएको छ ।
प्रतिक्रिया