विपन्नको घरमा खर हटाएर टिनको छाना राख्न सुरु

विपन्नको घरमा खर हटाएर टिनको छाना राख्न सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २७ मङ्सिर (रासस) ः पुनर्वास नगरपालिकामा विपन्न परिवारको खर हटाएर टिनको छाना राख्ने कार्य सुरु भएको छ । सङ्घीय सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका ११ वटै वडामा कार्यक्रम सञ्चालन गरिएको छ ।

नगरपालिकाभित्र रहेका विपन्न अवस्थाका १६८ परिवारको घरमा टिनको छाना राख्नका लागि छनोटको कार्य भइसकेको नगरप्रमुख जीवनराज थापाले बताउनुभयो । “छनोटमा परेका प्रतिपरिवारलाई रु ५० हजारका दरले अनुदान रकम दिने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “पहिलो किस्ताका रुपमा ६० प्रतिशत रकम बैंक खातामार्फत उपलब्ध गराउछौं । दोस्रो किस्ताको बाँकी ४० प्रतिशत रकम प्राविधिकको मूल्याङकन गरेपछि उपलव्ध हुन्छ ।”

कार्यक्रम सञ्चालनका लागि अनुदान पाउने किसानसँग सम्झौताको कार्य गरिएको छ । अनुदान रकमका लागि घर पूरै खरको प्रयोग गरी बनाइएको छ भने त्यस्तो घरलाई पहिलो, छानामा खर र पर्खाल काठको बनाइएको छ भने दोस्रो र छानामा टायललगायतको प्रयोग गरिएको छ भने तेस्रो प्राथमिकतामा राखेर छनोट गरिएको छ ।
“छनोटका मापदण्डअनुसार घरको प्राविधिक टोलीले मूल्याङ्कन गरी ५० बढी अङ्क ल्याएको हुुनुपर्दछ”, नगर प्रमुख थापाले भन्नुभयो,“५० बढी अङ्क ल्याउने घर अनुदान रकमका लागि योग्य मानिन्छन् । निर्धारित मापदण्डअनुसार विपन्न परिवारको घरकोस्तर हेरी छनोट गरेका छौं ।”

खरको छाना हटाएर टिनको छाना राख्नका लागि छनोटमा परेकासँग सम्झौता गरी पहिलो किस्ताको रकम बैंक खातामार्फत उपलव्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो । नगरमा बसोबास गर्ने बासिन्दाले झोपडीमा बस्नु नपरोस् भन्नका लागि कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । “असुरक्षित घरमा बस्दा आगलागी भई क्षति व्यहोर्नु पर्ने र सर्प लगायतका विषालु कीराको टोकाइ बासिन्दा प्रभावित नहुन भन्नकै लागि खरको छाना हटाउने अभियान सञ्चान गरेका छौं । नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउने जनप्रतिनिधिको कर्तव्य अनुसार कार्य भइरहेको छ” उहाँले भन्नुभयो ।

यो पनि –  समस्यामा भजनी प्राथमिक स्वस्थ्य केन्द्र

भजनी, २७ मङ्सिर (रासस) ः कैलालीको भजनी प्राथमिक स्वस्थ्य केन्द्र भजनी नगरपालिकाको स्थानीयवासीका लागि मात्रै नभइ आसपासका स्थानीय तहका नागरिकको पनि उपचारका लागि एक मात्रै सुविधायुक्त स्वास्थ्य केन्द्र हो ।

भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट नागरिक उपचारका लागि भजनी प्राथमिक स्वस्थ्य केन्द्र पुग्ने गरेको भए पनि स्वस्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको दरबन्दी नहुँदा समस्या भएको छ । अहिले स्वस्थ्य केन्द्रको व्यवस्थापन समितिले १४ जना कर्मचारी करारमा र दुईजना ज्यालादारीमा राखेको छ । स्वास्थ्यकेन्द्रको आम्दानी भनेको स्वास्थ्य बीमा मात्रै हो । स्वास्थ्य बीमाको रकम पनि समयमा नआउने भएका कारण आर्थिक भार थेग्न निकै मुस्किल हुने गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा सुवास स्वार बताउनुहुन्छ ।

स्वास्थ्य केन्द्रमा एकमात्र मेडिकल अधिकृतको दरबन्दी छ । त्यो पनि लामो समयदेखि खाली छ । केही वर्षदेखि नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका स्वास्थ्यकर्मीले दुईवर्ष सरकारी स्वस्थ्य संस्थामा काम गर्नुपर्ने व्यवस्था अनुसार स्वास्थ्य केन्द्रमा आएका स्वास्थ्यकर्मीकै भरमा बिरामीले उपचार पाइरहेका छन् । अहिले स्वास्थ्य केन्द्रमा दुईजना मेडिकल अधिकृत छन् । त्यसमा पनि एकजना तालिममा छन् । एकजनले स्वास्थ्य केन्द्रमा २४ घण्टा काम गर्नुपर्ने बाध्यता रहेको डा स्वारले बताउनुभयो ।

भजनीमा प्राइभेट क्लिनिक पनि छैन । स्वास्थ्य जाँचको लागि सबै नागरिकको माध्यम भनेकै भजनी प्राथमिक स्वास्थ्य केन्द्र मात्रै हो । त्यतिमात्र होइन, यदि स्वास्थ्य केन्द्रमा औषधि नपाए त्यो औषधिका लागि भजनी बाहिर जानुपर्ने बाध्यतामा भजनीवासी छन् । “बिरामीको सङ्ख्या अत्याधिक हुन्छ । जनशक्ति छैन । प्रसूति गृहमा पनि अवस्था त्यस्तै छ । महिनामा ५० भन्दा बढी गर्भवती आउछन्”, मेडिकल अधिकृत स्वारले भन्नुभयो, “सायद यो कैलालीकै एकमात्र स्वस्थ्य केन्द्र हो, जहाँबाट अस्पतालले दिने सबै सेवा दिएको छ । कर्मचारीको अभावका बाबजुद पनि ।” स्वास्थ्य केन्द्रले अहिले सर्पदंशको उपचार समेत गर्न थालेको छ । सर्पदंशले टोकेपछि उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

स्वास्थ्य केन्द्रमा रहेको पुरानो शव परीक्षण कक्ष भने लामो समयदेखि बन्द रहेको छ । अहिले कुनै मान्छेको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि टीकापुर वा धनगढी पु¥याउनुपर्ने बाध्यताको भने अझै अन्त्य भएको छैन । केही वर्ष पहिले टीकापुरबाट पनि शव परीक्षणका लागि भजनी जानुपर्ने बाध्यता थियो । अहिले त्यो उल्टिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि केही समयका लागि सुरु गरिएको शव परीक्षणका काम स्वास्थ्यकर्मीकै अभावमा बन्द भएको मेडिकल अधिकृत स्वारले बताउनुभएको छ ।

“सबैभन्दा विवादित हुने कुरा नै शव परीक्षणका रिपोर्ट हो । त्यसको लागि छुट्टै तालिम लिनुपर्छ । त्यो तालिम स्वास्थ्य केन्द्रमा कार्यरत कसैले पनि लिएका छैनौं”, स्वारले भन्नुभयो,“हचुवाको भरमा गरेको शव परीक्षणका रिपोर्टले धेरै समस्या पार्न सक्छ । त्यसमा पनि राजनीतिक आडमा हुने घटनामा झनै जोखिम हुने गरेको छ ।” उहाँले केही दिनमा दुईजना थप मेडिकल अधिकृत भजनी प्राथमिक स्वस्थ्य केन्द्रमा आउने बताउँदै एकजनालाई शव परीक्षणको तालिमका लागि काठमाडौँ पठाउने र शव परीक्षण घरलाई व्यवस्थित गरेर सञ्चालनमा ल्याउने बताउनुभयो ।