सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कृषि ज्ञान केन्द्र बागलुङले दुई वर्ष उमेर समूहका बालबालिकाको परिवारलाई कार्यक्रममा सहभागी बनाउने भएको हो । गण्डकी प्रदेश सरकारको ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त तरकारी उत्पादन तथा मह उत्पादनमा जोडेर पोषणमा सुधार गर्ने कार्यक्रम रहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।
सूचीकृत समूह वा सहकारीमा आवद्ध १५ देखि २५ जना सुत्केरी महिलाको समूहले यो कार्यक्रममा सहभागिता जनाउन पाउने छन् । “दुई वर्षभित्रका बच्चा भएको परिवारका सदस्यले प्रमाणसहित कार्यक्रममा सहभागी हुनसक्छन्, त्यसका लागि क्लस्टर बनाउनुपर्छ”, भट्टराईले भन्नुभयो, “यो कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छौं ।” कार्यक्रमका लागि जिल्लाभर रु ३० लाख परिचालन हुनेछ । एक जना बालबालिकाको परिवारले २० हजार अनुदान पाउने छ ।
समूहमा आउनेलाई थप प्रोत्साहन गरिने उहाँ बताउनुहुन्छ । “च्याउखेती गरेको हुनुपर्छ, सानो प्लास्टिक टनेल र एक घार माहुरी हुनुपर्ने कार्यक्रमको विधि छ”, उहाँले भन्नुभयो, “मह, च्याउ, तरकारी र आवश्यक पोषिलो वस्तु कौसीमा उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।” यो कार्यक्रमले घरमै पोषणयुक्त तरकारी तथा मह उत्पादन गर्न प्रेरित गर्ने उहाँले बताउनुभयो । बालबालिका दुई वर्षको हुँदासम्म सुत्केरी र बालबालिकाका लागि मह र तरकारी प्रयोग हुने र त्यसपछि करेसाको तरकारीले घरखर्च चलाउन सहज हुने कार्यक्रमको लक्ष्य छ । “सिकाइ पनि होस्, उत्पादन र प्रयोग पनि होस्”, भट्टराई भन्नुहुन्छ, “सहयोगले परिवारमा कुपोषणका कारण आउनसक्ने ठूलो क्षतिलाई कम गर्छ ।”
कार्यक्रममा सहभागी हुनका लागि कार्यालयले आह्वान गरेको भए पनि कसैले आवेदन भने दर्ता गराएका छैनन् । समूह चाहिने, दर्ता भएको हुनुपर्ने र कम्तीमा १० जनाभन्दा बढीको समूह हुनुपर्ने भएकाले प्रक्रिया पु¥याउन कठिन छ । समुदायस्तरमा सचेतना र जागरणमार्फत कार्यक्रम प्रभावकारी बनाउने कार्यालयको योजना छ । विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाले गरिरहेका पोषण सुधारका काममा कृषि ज्ञान केन्द्रको कार्यक्रमले सहयोग गर्ने भट्टराईको विश्वास छ ।
यो पनि – सोलार आयोजनामा निर्माणको काम रोकियो
नुवाकोटमा निर्माणाधीन ग्रिडमा आवद्ध सोलार आयोजनाको कार्यालयमा युवा सङ्घर्ष समितिले ताला लगाएसँगै काम बन्द भएको छ । समितिले आफ्ना माग पूरा गर्नको लागि भन्दै दबाबस्वरुप आइतबार विदुर नगरपालिका–६ स्थित आयोजनाको कार्यालयमा ताला लगाएका थिए ।
सामाजिक उत्तरदायित्वको जिम्मेवारी पूरा गर्न दिएको समयमा आयोजनाले बेवास्था गरेको भन्दै विदुर नगरपालिका–१२ का युवा सम्मिलित युवा सङ्घर्ष समितिले कार्यालयको मूल ढोकामा ताला लगाएको हो ।
यसअघि पटक–पटक भएको सहमति अनुसार गत मङ्सिर १० गते माग पूरा गर्न दिएको १५ दिनको समयसीमा आयोजनाले अटेर गरेकाले कार्यालयमा ताला लगाएको समितिका संयोजक रोजिना ढुङ्गानाले जानकारी दिनुभयो । उहाँको अनुसार विदुर नगरपालिका–६ को ब्यारेक चोकदेखि वडा नं १२ को ज्यामिरेमोडसम्मको सडक स्तरोउन्नति तथा कालोपत्र गर्ने काम सुरु गर्न आग्रह गरिएकोमा नगरेकाले तालाबन्दी गरिएको हो ।
“जनप्रतिनिधिको उपस्थितीमा आयोजनाले जनाएको जिम्मेवारी पूरा गर्न बेवास्था गरेसँगै कार्यालयमा ताला लगाउन बाध्य भएका हौ”, संयोजक ढुङ्गानाले भन्नुभयो, “आयोजनाले सामाजिक उत्तरदायित्वको काम गर्न बजेट सुनिश्चित गरेपनि कार्यान्वयमा ढिलो गरकाले ताली लगाएर काम रोकिएको हो ।”
युवा सङ्घर्ष समितिसहित सोलार सरोकार समितिसहितको उक्त क्षेत्रका विभिन्न सङ्घसंस्था र समितिले आयोजनाको पहुँच मार्गमा पर्ने ब्यारेक चोकदेखि ज्यामिरे मोडसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्रको माग राख्दै आएका छन् ।
आयोजनाको कार्यालयमा ताला लगाएसँगै जारी रहेको सोलार ग्रिडको निर्माणको काम प्रभावित भएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो । उहाँको अनुसार स्थानीयवासीको माग जायज भए पनि शान्तिपूर्ण प्रक्रियाको सट्टा तालाबन्दीले योजनाको निर्माणलाई थप ढिलो भएको छ । “सामाजिक उत्तरदायित्वका योजना कार्यान्वयनका लागि बजेट सुनिश्चितको क्रममा रहेको छ”, उहाँले भन्नुभयो, “एक महिनाभित्रै काम अघि बढाउन केन्द्रबाट बजेट प्राप्त हुने चरणमा रहेको छ ।”
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट जलविद्युत् केन्द्रको नाममा रहेको खाली जग्गामा निर्माण थालिएको सोलार प्लाण्टमार्फत २५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यको साथ काम अघि बढाइएको छ । आयोजनाबाट हालसम्म १० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएको छ ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौतामा काम भइरहेको हो । उक्त सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले पाँच वर्षसम्म गर्ने जनाएको छ ।
कम्पनीले पाँच वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने उल्लेख छ । कम्पनीले प्लान्टबाट वार्षिक रुपमा तीन करोड ३० लाख युनिट विद्युत् उत्पादन गर्नुपर्ने सम्झौतामा भनिएको छ ।
–––



प्रतिक्रिया