नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो ।
निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।
यो पनि – कांग्रेस १४औँ महाधिवेशन : एक हजार ९९३ मत खस्यो
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा एक हजार ९९३ मत खसेको छ । मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ४ः३० बजेसम्म एक हजार ९९३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसले मतदानका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ६८६ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा एक हजार ३०७ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।
कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।
प्रतिक्रिया