चितवनमा भाले गैँडा मृत फेला

चितवनमा भाले गैँडा मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवनमा भाले गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । सिद्धिगणेश सामुदायिक वनबाट करिब ५०० मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा गैँडा मृत फेला परेको हो । प्राविधिकको टोलीबाट शव परीक्षण भएको छ ।

उहाँले भन्नुभयो, “मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्टपछि मात्रै थाहा हुन्छ ।” डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का प्राविधिक टोलीले मृत गैडाको व्यवस्थापन गरेको छ ।गैँडाको खाग र खुरसहित सबै अङ्ग सुरक्षित छ । मृत गैँडाको शरीरमा कुनै चोट पनि देखिएको छैन । गैँडाको सिंग र खुर डिभिजन वनको झनझने पोष्टमा सुरक्षित राखिएको छ ।

यो पनि – निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास

चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । गैँडा, बँदेललगायत वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासीले नियन्त्रणको माग गर्दैै वडा कार्यालयमार्फत निकुञ्जलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मध्यविन्दु नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थान, इटौरा, रतनपुरलगायत क्षेत्रमा निकुञ्जबाट आउने गैँडा, बँदेललगायत वन्यजन्तुका कारण असुरक्षा बढेको भन्दै जनाबर बस्ती प्रवेशमा रोक लगाउनका लागि माग गरिएको हो । मध्यविन्दु–३ ब्रम्हस्थानका सूर्यप्रसाद पौडेलले गैँडा र बँदेलका कारण गाउँमा लगाइएको अन्नबाली नष्ट हुने गरेको बताउनुभयो ।

“निकुञ्जबाट आउने जङ्गली जनावरका कारण हामीले लगाएको अन्नबाली पूरै स्याहार्न पाउँदैनौँ”, पौडेलले भन्नुभयो, “दिउँसै बस्तीमा गैँडा पस्न थालेपछि हामीलाई कामधन्दा गर्न बाहिर निस्कन पनि समस्या हुन थालेको छ ।” विगत एक महिनादेखि यस क्षेत्रमा नियमित जस्तो दिउँसै गैँडा आउन थालेका छन् ।

गाउँलेले जङ्गली जनावरलाई गाउँ छिर्न रोक्नका लागि मेसजाली लगाउने तथा फेन्सिङ वायर (विद्युतीय तारबार)को काम तुरुन्त गर्न मध्यविन्दु–३ वडा कार्यालयमार्फत मध्यवर्ती क्षेत्र, नगरपालिका र निकुञ्जको ध्यानाकर्षण गराएका छन् । जङ्गली जनावरका कारण गाउँमा त्रास फैलिँदासमेत निकुञ्ज र नजिकै भएको मध्यवर्ती समितिसमेत बेखबर बसेको भन्दै स्थानीयवासीले हस्ताक्षरसहित ध्यानाकर्षण गराएका हुन् । दिउँसै गाउँमा गैँडा पस्न थालेपछि यहाँका बासिन्दा काममा जानसमेत डराउन थालेका स्थानीयवासी बुद्धिराम बोटेले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको पहलमा यस क्षेत्रमा निकुञ्जबाट गैँडा, बँदेललगायत जनावर गाउँ पस्नबाट रोक्न विद्युतीय तार लगाइएको भए पनि तारको नियमित मर्मत सम्भार नहुँदा जनावर सजिलै गाउँ छिर्न थालेका स्थानीयवासी सुवास नेपालले जानकारी दिनुभयो । “नारायणी नदीको किनारैकिनार विद्युतीय तार त लगाइएको छ”, नेपालले भन्नुभयो, “तर, तारको नियमित हेरविचार नपु¥याउँदा तार ठाउँठाउँमा चुँडिएका छन्, त्यसकारण पनि जङ्गली जनावर सजिलै गाउँ छिर्ने गरेका हुन् ।”

वडा कार्यालय, नगरपालिका तथा मध्यवर्ती क्षेत्र र निकुञ्जले गाउँको समस्या तत्काल समाधान नगरेमा वन्यजन्तु पीडित स्थानीयवासीले आफ्नो जिउधन रक्षाका लागि थप सशक्त आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने नेपालले बताउनुभयो ।

जङ्गली जनावरलाई गाउँ पस्नबाट रोक्नका लागि प्रभावकारी ढङ्गले काम गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । स्थानीयको समस्याका बारेमा आफूहरुलाई पहिले जानकारी नभएको उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत आचार्यले निकुञ्जका जनावर बस्ती पस्नबाट रोक्नका लागि काम गरिने बताउनुभयो ।