रुकुम (पूर्व)मा यस वर्ष मह उत्पादनमा भारी गिरावट आएको छ । जिल्लाभरमा यसवर्ष गत वर्षको तुलनामा ८० प्रतिशतले मह उत्पादनमा कमी आएको हो । यस वर्ष जिल्लारभरमा ७२० किलो मह उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार यसवर्ष उत्पादन भएको ७२० किलो मह गत वर्षको तुलनामा ८० प्रतिशतले कम हो । जिल्लामा मह उत्पादन यस वर्ष मात्र घटेको होइन । पछिल्ला केही वर्षयता वर्षैपिच्छे मह उत्पादनमा कमी आउँदै गएको छ । जिल्लाको सिस्ने गाउँपालिकाको ३ नं वडा झन माहुरीको पकेट क्षेत्र नै हो । पकेट क्षेत्रसँगसँगै जिल्लाभर नै यसपालि मह उत्पादनमा ८० प्रतिशतले कमी आएपछि कृषक समस्यामा परेका छन् ।
व्यावसायिक रूपमा नै माहुरीपालन गर्दै आएका कृषक झन् बढी समस्यामा परेका हुन् । सिस्ने–३ पोखराका ओमबहादुर खड्काले एक हजार १२५ घार माहुरी पाल्नुभएको छ । ओमप्रकाश खड्काले १८०, कमलाल खड्काले १२०, कलबहादुर घर्तीले १२५ घार माहुरी पाल्नुभएको छ । उहाँहरू जस्तै जिल्लामा विभिन्न फर्म दर्ता गरी माहुरीपालन व्यवसायलाई अँगाल्ने धेरै कृषक छन् । मह उत्पादनबाटै घरव्यवहार चलाउँदै आएकाले पछिल्लो समयमा उत्पादन भएको महको परिमाणलाई हेरेर चिन्ता व्यक्त गरेका छन् । हाल जिल्लाभर दुई हजार ३५० घार तथा गोला माहुरी रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक हजार ५६५ वटा आधुनिक घार छन् भने ७८५ वटा मुढे घार छन् । जिल्लामा मह उत्पादन घट्दै जानुको प्रमुख कारण माहुरीको घार सङ्ख्या थपिँदै जानु तर चरन क्षेत्रको विस्तार नहुनु रहेको कृषि अधिकृत बस्नेतले बताउनुभयो । पोखरालाई माहुरीको पकेट क्षेत्र घोषणा गरेपछि कृषक माहुरीपालनमा आकर्षित भएका छन् । पोखरा माहुरीमय भइरहेका बेलामा जिल्लाको अन्य ठाउँमा पनि माहुरीपालक कृषक वृद्धि हुँदै गएको तर माहुरीका लागि चरन क्षेत्रको विस्तारतिर कसैले ध्यान नदिँदा यस्तो समस्या आएको बस्नेतको भनाइ छ ।
यस्तै, माहुरी चरनको प्रमुख स्रोत चिउरी हो । यहाँ चिउरी फुल्ने बेलामा वर्षा भएपछि अर्को समस्या थपिएको हो । किसानले आधुनिक घारको प्रयोग गर्नु तर त्यसमा आधार चाका प्रयोग नगर्नु, रोग किराको प्रकोपले गर्दा मह उत्पादनमा कमी आएको निष्कर्ष एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको छ । “चिउरीबाट रस प्राप्त हुन्छ, माहुरीलाई रससँगसँगै कुटको पनि आवश्यकता पर्छ,” कृषि अधिकृत बस्नेतले भन्नुभयो, “कुट तोरीमा पाइन्छ, चिउरी फुल्ने बेलामा तोरी लगाउने चलन हराउँदै गएको छ ।” यसकारण पनि मह उत्पादनमा कमी आएको कार्यालयका कृषि अधिकृत बस्नेतको भनाइ छ । मह उत्पादनमा कमी आएर कृषक निराश बनिरहँदा कार्यालयले सिस्नेको ३ र ४ मा मौरी ब्लक कार्यक्रम सञ्चालन गर्दै छ भने अन्य ठाउँमा मौरी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । विकास र ब्लकमार्फत कृषकको मागमा आधारित कार्यक्रमहरू सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
जिल्लामा सिस्नेको ३ र ४ मा सबैभन्दा बढी मह उत्पादन हुन्छ । यसैगरी, ५, ६, ७, ८, भूमे गाउँपालिका–८ र ९ तथा पुथाउत्तरगङ्गा गाउँपालिकाको १० र ११ मा माहुरीपालन व्यवसाय राम्रो हुने गरेको छ । जिल्लामा मह उत्पादनबाट आयआर्जनको सम्भावना राम्रो रहेको छ । अहिले कृषकले उत्पादन गरेको महले बजारको माग धान्न सकिरहेको छैन । “अन्य जिल्लाबाट महको माग आउने गरे पनि जिल्लाभित्रैको माग धान्न नसक्दा बाहिरको माग पूरा हुने कुरै भएन”, कृषक ओमप्रकाश खड्काले भन्नुभयो । अहिले रु दुई हजार ५०० देखि तीन हजार प्रतिधार्नीमा मह बिक्री भइरहेको छ ।



प्रतिक्रिया