मङ्गलबारदेखि सुरु हुने सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेश गर्नुहुनेछ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्त्री पत्र पढेर सुनाउने र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामावली मनोनयन बैठकको प्रारम्भमा हुनेछ ।
यो पनि – कांग्रेस १४औँ महाधिवेशन : चार हजार २९६ मत खस्यो
नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा चार हजार २९६ मत खसेको छ । कांग्रेसको ११.४५ बजेदेखि सुरु भएको मतदानमा अहिले राति ९ बजेसम्म चार हजार २९६ मत खसेको हो । जम्मा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा एक हजार ३८२ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा दुई हजार ९१४ मत खसेको हो । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।
प्रतिक्रिया