नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज बिहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय दोस्रो पटक थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाइका कारण झण्डै चार घण्टापछि मात्र सुरु भएकाले मतदानको समय थप गरिएको हो ।
निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म थप गरिएकोमा उक्त समयलाई बढाएर १०.३० बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । कांग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । राति ९ बजेसम्म चार हजार २९६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
यो पनि – प्रतिनिधिसभाका बैठकमा पाँच अध्यादेश पेश गरिने
मङ्गलबारदेखि सुरु हुने सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेश गर्नुहुनेछ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्त्री पत्र पढेर सुनाउने र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामावली मनोनयन बैठकको प्रारम्भमा हुनेछ ।
प्रतिक्रिया