गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको सक्रियतामा १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि हुने पुनः मतदानमा निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंहले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने हुनुभएको छ ।
कांग्रेस सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले आवश्यक बहुमत नल्याएपछि दोस्रो चरणमा निर्वाचन हुने निश्चित भएको र त्यसका लागि यो निर्वाचनमा पहिलो र दोस्रो स्थानमा मत ल्याएका उम्मेदवार प्रधानमन्त्री देउवा र नेता डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
त्यस लगत्तै गृहमन्त्री खाँण र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख वीरबहादुर बलायर आज बिहान सभापतिका प्रत्यासी प्रकाशमान सिंहलाई भेट्न सिंह निवास चाक्सीबारी पुग्नुभयो र पुनः मतदानमा देउवालाई सघाउन आग्रह गर्नुभयो । उहाँहरुले सिंहलाई मिलेर अघि बढ्न र पार्टीलाई सशक्त बनाउन अबको निर्वाचनमा देउवालाई सहयोग गर्न प्रस्ताव राख्नु भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।
उहाँँहरुको सो प्रस्तावपछि सिंहले आफूले आफ्ना टिमका साथीहरूसँग छलफल गरेर निर्णय गर्ने बताउनुभयो । त्यसपछि प्रधानमन्त्री देउवा पनि सिंह निवास चाक्सीबारी पुगेर सहमति गर्नुभयो । त्यसपछि नेता सिंहले अबको पुनः मतदानमा देउवालाई समर्थन गर्ने बताउनुभएको हो ।
यो पनि – सभापतिमा देउवालाई निधि र गुरुङको पनि समर्थन
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी बिमलेन्द्र निधिले समर्थन गर्नुहुने भएको छ । नेता निधिले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले आज बिहान टेलिफोन गरेर र आफ्नै निवासमा आएर आफूलाई समर्थन गर्नका लागि गर्नुभएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको बताउनुभएको छ ।
पहिलो चरणको निर्वाचनमा आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणको मतदानमा सभापति पदमा देउवालाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनुरोध गर्नुभएको छ । उहाँले १४औँ महाधिवेशनमा सभापति पदका लागि हिजो भएको निर्वाचनमा आफूलाई साथ दिने साथीहरु र आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरुप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।
महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुन लागेको हो । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । आजै साढे ३ बजेदेखि मतदान सुरु हुनेछ ।कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।
सभापतिमा देउवालाई अर्का प्रत्यासी गुरुङको पनि समर्थन
सभापतिका प्रत्यासी रहनुभएका कल्याण गुरुङले पनि सभापतिमा देउवालाई समर्थन गर्ने बताउनुभएको छ । पहिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।उहाँले आाफ्ना मतदातासँग आजै बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । यसअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले देउवालाई नै समर्थन गर्ने घोषणा गरिसक्नु भएको थियो ।
प्रतिक्रिया