प्रतिनिधिसभाको १०औँ अधिवेशन शुरु, प्रमुख प्रतिपक्षको विरोध

प्रतिनिधिसभाको १०औँ अधिवेशन शुरु, प्रमुख प्रतिपक्षको विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभाको दशौँ अधिवेशनको पहिलो बैठक शुरु भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो र बैठकमा स्वागत गर्नुभयो । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय मर्यादा कायम राख्न माग गर्दै बेल घेराउ गरेको थियो ।

आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट रही आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट शुरु भएको सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।

यो पनि – संसद््को अवरोध हटाउन माओवादीले पहल गर्ने

नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्को गत्यावरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद््मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन । बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक राजनीतिक अवस्था र सङ्घीय संसद््को बैठकमा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाको बारेमा निर्देशन दिनुभएको थियो ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा अध्यक्ष दाहालले सङ्घीय संसद्को बैठकमा प्रभावकारी भूमिका खेल्न र जनताको पक्षमा दह्रोसँग उभिन निर्देशन दिनुभयो । यस्तै बैठकले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा गोपी अछामीलाई चयन गरेको छ । त्यस्तै, सचेतकमा गंगा बेल्वासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ । बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डमा प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतक, सचेतकलगायत रहनुभएको छ ।

यो पनि – सङ्घीय संसद्ले सुशासनको सन्देश दिन सक्नुपर्छ ः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र संसद् सचिवालयले सुशासनको शक्तिशाली सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभएको छ । पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको सन्देश प्रवाह गर्न राष्ट्रसेवकलाई निर्देशन दिनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “चारैतिर निराशा रहेका बेला हामीले देश र जनताको सेवामा इमान्दार, निष्ठा र अनुशासनमा रही सुशासनको शक्तिशाली सन्देश दिन सक्नुपर्छ । हामी सबै त्यसतर्फ लागौँ ।” जीवन्त र जनमुखी मात्र होइन, जनताको ढुकढुकी र लोकधारकारुपमा रहेको संसद् सेवाका कर्मचारीलाई लोकतन्त्रको मूल्य मान्यताअनुरुप क्रियाशील हुन सुझाव दिँदै उहाँले भन्नुभयो, “म आफू पनि राष्ट्र र इतिहासले दिएको जिम्मेवारीलाई निष्ठा र इमान्दारीका साथ पूरा गर्नेछु ।”

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले संसद् सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन चुस्त र प्रभावकारी तुल्याउन सुझाव दिनुभयो । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले कर्मचारीका सेवा सुविधा र हित संरक्षण गर्दै लक्ष्यप्राप्तिमा आवश्यक ध्यान दिइने प्रतिबद्धता जनाउनुभयो ।

सचिवालयका सचिव ध्रुवप्रसाद शर्माले सरकारको काम कारवाही निगरानी गर्ने संसद सेवालाई मर्यादित्, गरिमामय र आकर्षक तुल्याउने प्रयास भइरहेको बताउनुभयो । संसद् कर्मचारी यूनियनका अध्यक्ष नवराज नगरकोटीले संसद् सेवाको ओज र सेवा सुविधा बढाउन नेतृत्वबाट पहल आवश्यक रहेको आँैल्याउनुभयो ।

संसद् सेवामा आकर्षण बनाउन नसकेका कारण लोकसेवा उत्तीर्ण भएर आउने जनशक्तिलाई टिकाइ राख्न पछिल्लो समय चूनौति रहेको सो अवसरमा जानकारी दिइयो । संसद् सेवामा वर्षभरिको कार्यसम्पादनमा अब्बल ठहरिएका उपसचिव रामकुमार पौडेललाई रु एक लाख राशिको सर्वाेत्कृष्ट सङ्घीय संसद् सेवा र शाखा अधिकृत दिपाकुमारी दुलाललाई रु ७५ हजार राशिको उत्कृष्ट सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गर्ने घोषण गरियो ।

वरिष्ठ प्रेस प्राविधिक राजेन्द्रप्रसाद लामिछाने र कार्यालय सहयोगी सिजन खनालललाई जनही रु ५०÷५० हजार राशिको यस वर्षको सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गरियो । यस वर्षको संसद् सेवा दिवसको मूल नारा लगनशीलता र कर्तव्य निष्ठा ः संसद् सेवाको प्रतिष्ठा तय भएको थियो ।

संसद्लाई स्वतन्त्र तवरले विशेषज्ञ प्रकृतिको सेवाका रुपमा स्थापित गर्न विस् २०५८ मङ्सिर २८ गते स्वायत्त संसद् सेवा गठन गर्न ऐन जारी भएको दिनको सम्झनामा सङ्घीय संसद् सेवा दिवस मनाइँदै आएको छ । विगतमा केही वर्ष संसद् नरहेको अवस्थामा दिवस मनाउने काम रोकिएकामा २०६४ सालबाट पुनःआरम्भ गरिएको थियो । सभामुख सापकोटाले समारोहमा सङ्घीय संसद् सचिवालयको वार्षिक प्रकाशन स्मारिका लोकार्पण गर्नुभयो । यस वर्ष संसद् दिवसका दिन अर्थात् आजैबाट हिउँदे अधिवेशन प्रारम्भ हँुदैछ ।