नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताउनुभएको छ ।नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग नगरेको बताउनुभएको हो । “निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढङ्गले केही अनलाइनमा आएको भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, नेता सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेता सिंहले प्रथम चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नुभएका तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्ने प्रतिबद्धताअनुसार आफूले सभापतिमा देउवालाई समर्थन गरेको बताउनुभयो । उहाँले अन्य खाले अनर्गल भ्रममा नपर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ ।
यो पनि – सभापतिको पुनःमतदानमा हालसम्म दुई हजार १०० खस्यो
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको पुनःनिर्वाचनको मतदान जारी छ । साँझ ६ः३० बजेसम्म दुई हजार १०० मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले जानकरी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न छ स्थानबाट व्यवस्था भइरहेको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनःनिर्वाचन भएकोे हो ।
।
यो पनि – सरकारले स्वदेशी हस्तकलालाई प्राथमिकता दिनुपर्छ : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेशी हस्तकला प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल हस्तकला महासङ्घको ५० औँ स्वर्ण वर्षको शुभारम्भ एवं १० औँ हस्तकला दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपाली हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । “निर्यात व्यापार, रोजगारी सिर्जना, गरिबी निवारणका साथै अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान कायम गर्न सफल हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो ।
उपराष्ट्रपति पुनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामाग्री प्रयोग गर्न आग्रहसमेत गर्नुभयो । नेपाली हस्तकलाले व्यापार घाटा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोनाबाट थलिएको नेपाली हस्तकला व्यवसायलाई पुनर्जीवन दिन तीनवटै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले महासङ्घले स्वर्ण वर्षभरि हस्तकला व्यवसायको प्रवद्र्धनका लागि नीतिगत तथा प्रक्रियागत व्यवस्था सरलीकरणसम्बन्धी गोष्ठी सेमिनारलगायतका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।
हस्तकला महासङ्घका उपाध्यक्ष तथा हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्यले हस्तकलाको विकास र विस्तारका लागि सबैभन्दा पहिले हस्तकला नीति तर्जुमा गरिनुपर्ने बताउनुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले कोरोनाले थलिएको हस्तकलालाई पुनर्जीवन दिने उद्देश्यका साथ महासङ्घले हस्तकला वर्ष घोषणा गरेर विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा महासङ्घका संस्थापक अध्यक्ष सागरशमशेर राणा, संस्थापक सदस्य मोतीलाल शिल्पकारका साथै उत्कृष्ट निर्यातकर्ता एभरेष्ट फेसनका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठ, सुनिता शेर्पा, नरेशलाल श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया