नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको हो । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो ।

सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी हुनुभएको हो । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गर्नुभएको थियो भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।

दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा शेखर कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो ।

सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।

यो पनि – कांग्रेस सभापतिको मतगणना ः देउवाको अग्रता कायमै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म १ हजार ८०० मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । सभापतिका उम्मेदवार देउवालाई एक हजार ४० मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले ७४१ मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यो पनि – कांग्रेस सभापतिको पुनः मतदानको मतगणनामा देउवालाई प्रारम्भिक अग्रता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म ९९९ मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । सभापतिका उम्मेदवार देउवालाई ५९० मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले ४०१ मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  त्यस्तै आठ मत बदर भएको पनि सो समितिले जनाएको छ । –––