सभापति देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता छ : गृहमन्त्री खाँण

सभापति देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता छ : गृहमन्त्री खाँण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभएको छ । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । सभापति देउवाले कांग्रेसलाई अझै सुदृढ, क्रियाशील, गतिशील र सङ्गठित बनाएर लैजाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ (सभापति देउवा)को कार्यकालमा लोकतन्त्र पनि बलियो हुनेछ । राजनीतिक सहमति र सहकार्यका आधारमा मुलुकलाई अघि बढाउनुका साथै आगामी स्थानीय निकायको निर्वाचन र आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुनेछ ।”

कांग्रेस सभापतिमा पुनः दोस्रो कार्यकालका लागि सभापति बन्नुभएका सभापति देउवाले महाधिवेशनअन्तर्गत निर्वाचनको प्रतिस्पर्धामा रहेका सबैलाई पार्टीमा समेट्ने, पार्टीको अभियानमा सक्रिय बनाउने तथा पार्टी सभापतिमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेतालाई केन्द्रीय समितिमा समेटेर लैजाने धारणा राख्नुभयो ।

निर्वाचन व्यवस्थापनमा केही त्रुटि भएको र मतदाताले पनि गुनासो गरेकाले त्यसलाई आगामी दिनमा सच्याएर लैजाने प्रतिबद्धता जनाउनुभयो । प्राविधिक समस्याका कारण मतदाता लामो समयसम्म लाइन बसेर कष्टका साथ मतदान गर्नुपर्ने अवस्था आएको भन्दै उहाँले आगामी महाधिवेशनमा अहिलेको व्यवस्थापकीय पाटोलाई मध्यनजर गरी सरलीकृत गरिने विश्वास व्यक्त गर्नुभयो ।

यो पनि- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको हो । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो ।

सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी हुनुभएको हो । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गर्नुभएको थियो भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।

दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा शेखर कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो ।

सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।