अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा मङ्गलबार छापा मारी विभिन्न कागजात बरामद गरेको छ । अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुरारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो । रिसालले भन्नुभयो, “टोलीले निर्माण भएका सडकदेखि संरचनासम्मको स्थलगत अनुसन्धान गरी कागजात बरामद गरेको छ ।”
उहाँले अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातको प्रतिलिपि बरामद गरेको जानकारी दिनुभयो । उक्त पालिकाले खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
यो पनि – जलेश्वरनाथ मन्दिरको विकासका लागि सक्दो पहल गर्छुँ : मन्त्री झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताउनुभएको छ । उहाँले आज मन्दिरमा पूजाअर्चना गर्दै मन्दिरको जीर्णोद्वारका लागि पहल गर्ने बताउनुभयो ।
जलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिनुभयो । उहाँलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले माला र गमछा लगाएर स्वागत गर्नुभएको थियो । मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले मन्त्री झाँक्रीलाई पूजामा सहयोग गर्नुभएको थियो ।



प्रतिक्रिया