नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताउनुभएको छ । पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरु बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गर्नुभयो । पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आमनागरिकलाई चेतनशील र सङ्गठीत बनाएर मात्रै परिर्वतन सम्भव छ ।”
देशभरमा आफ्नो पार्टीमा नागरिकको आकर्षण बढिरहेको पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले बताउनुभयो । सबै प्रदेशका र विभिन्न जिल्लामा पार्टी र सङ्गठन विस्तारका क्रममा रहेको र कतिपय जिल्लामा ठूलै परिवर्तन आइरहेको उहाँको भनाइ छ । वडा तहसम्म कमिटी बनाउन र पार्टीलाई गतिशिल बनाउन उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “अरु पार्टीभन्दा कसरी भिन्न पार्टी बनाउने भन्नेमा हाम्रो ध्यान पुग्नुपर्छ ।”
राजधानी काठमाडौँ र अरु विभिन्न शहरमा सडकको अवस्था खराब भएको उहाँले बताउनुभयो । सरकारमा फरक–फरक पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको उहाँको भनाइ छ । राजनीतिक क्रान्ति जोगाउन बामपन्थी र लोकतान्त्रिक शक्तिसँग मिलेर लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “शेरबहादूर देउवा मात्रै होइन काङ्ग्रेसका अरु नेता पनि गठबन्धनलाई अघि बढाउनुपर्ने मान्यता राख्नुहुन्छ ।”
यो पनि – कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ । निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना सुरु गर्न निर्वाचन समितिले पार्टी नेतासहितको बैठक १ बजे बोलाएको सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । मतगणनाको आचारसंहितालगायत विषयमा छलफल एवं निर्णयपछि गणना सुरु हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने पनि उहाँले बताउनुभयो । सोमबार नै निर्वाचन सकिएपछि पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा लगी राखिएको छ ।
पहिलो चरणमा सभापति पदको मतगणना मङ्गलबार राति सम्पन्न भएको थियो । सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार दिउँसोदेखि बढी मत पाउने शेरबहादुर देउवा र डा शेखरप्रसाद कोइरालाकाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीसमेत रहनुभएका देउवा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ ।
यो पनि – कांग्रेस सभापति देउवालाई सुशील कोइराला फाउन्डेसनको बधाई
नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित हुनुभएकामा प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवालाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले बधाईसहित सफल कार्यकालका लागि शुभकामना दिएको छ । फाउन्डेसनका अध्यक्षसमेत रहनुभएका पार्टी महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गर्नुभएको विज्ञप्तिमा दोस्रो कार्यकालमा पार्टीभित्र पूर्ण एकता एवं मेलमिलाप कायम गर्दै आगामी तीनै तहको निर्वाचनमा बहुमत दिलाउन सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
पार्टीभित्र सबैलाई मिलाएर लैजाने जिम्मेवारीसमेत सभापतिकै काँधमा रहेकाले आगामी दिनमा आन्तरिक एकता एवं मेलमिलाप कायम गर्न पनि सभापतिलाई सफलता मिलोस् भनी वक्तव्यमा कामना गरिएको छ ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्गलबार भएको दोस्रोचरणको निर्वाचनमा देउवा निर्वाचित हुनुभएको थियो । सभापति देउवाको यो दोस्रो कार्यकाल हो । यसअघि विसं २०५९ असारमा नेपाली कांग्रेसबाट विभाजित भई बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति भएर पनि देउवाले काम गरिसक्नुभएको छ । कांग्रेस प्रजातान्त्रिकले विसं २०६४ मा नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेको थियो ।
यो पिन – सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई अध्यक्ष नेपालको बधाई
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित हुनुभएको छ ।
यो पनि – नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी
काठमाडौँ, २९ मङ्सिर (रासस) ः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई पराजित गर्नुभएको हो ।
पुनः मतदानमा निर्वाचनमा सभापति पदका पहिलो चरणका अन्य प्रत्यासी नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थनसहित देउवा विजयी हुनुभएको हो । यही मङ्सिर २४ गते महाधिवेशन उद्घाटन समारोहमा उहाँले आफूलाई पार्टी विधानअनुसार अन्तिम पटकका लागि सभापतिमा विजयी गराउन आह्वान गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले आफू पुनः सभापतिमा विजयी भएपछि आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई विजयी गराएर तीनै तहमा कांग्रेसको सरकार बनाउने उद्घोष गर्नुभएको थियो ।
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिनुभएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उहाँ हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिउनु भएको हो । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नुभएको छ ।
नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुनुहुन्छ । विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो ।
विसं २०४८ मा गृहमन्त्री बन्नुभएका देउवाले हालसम्म गरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभएका देउवा २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएको थियो । सोही वर्ष असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गर्नुभएको थियो । प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उहाँलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभएको थियो ।
प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएर जनताको विश्वास जित्नुभएको थियो । उहाँकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) का उहाँ सभापति बन्नुभयोे । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उहाँ काँग्रेसको वरिष्ठ नेता हुनुभएको थियो । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उहाँ तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको थियो । सभापति एवं पार्टी संसदीय दलका नेता देउवाले व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराउनुभएको थियो ।
सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुनुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै असार २८ गते पुनःस्थापनाको फैसलाका साथ उहाँलाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।
सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उहाँ सन् २०१३ देखि उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहन्छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताउनुभएको छ ।
यो पनि- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको हो । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो ।
सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी हुनुभएको हो । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गर्नुभएको थियो भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।
दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा शेखर कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो ।
सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।
यो पनि – कांग्रेस सभापतिको मतगणना ः देउवाको अग्रता कायमै
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म १ हजार ८०० मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । सभापतिका उम्मेदवार देउवालाई एक हजार ४० मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले ७४१ मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यो पनि – कांग्रेस सभापतिको पुनः मतदानको मतगणनामा देउवालाई प्रारम्भिक अग्रता
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म ९९९ मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । सभापतिका उम्मेदवार देउवालाई ५९० मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले ४०१ मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । त्यस्तै आठ मत बदर भएको पनि सो समितिले जनाएको छ । –––
प्रतिक्रिया