सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । जनकपुरधाममा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास गर्नुहुँदै मन्त्री झाँक्रीले सरकारले जनताको स्वास्थ्य, शिक्षा र रोजगारीलाई सरकारले प्राथमिकता राखेको बताउनुभयो । जनस्वास्थ्य प्रयोगशालाको भवन एवं प्रदेश मेडिकल स्टोर भवनको निर्माणपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेख प्रगति हुने विश्वास व्यक्त गर्नुहुँदै मन्त्री झाँक्रीले सरकारले ल्याएको स्वास्थ्य योजनालाई सफल बनाउन सबैसँग आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरिएका भवन तीनै तहबीचको समन्वय र सहकार्यको अनुपम उदाहरण भएको बताउनुहुँदै स्रोत साधनको आभावमा समेत कोभिड–१९ विरुद्ध प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्र हाताभित्र निर्माण हुन लागेको उक्त भवनको सहरी विकासमन्त्री रामकुमारी झाँक्री, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्तरूपमा शिलान्यास गर्नुभयो ।
कूल रु सात करोड २७ लाख लागतमा निर्माण हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाको साढे तीन तल्ले भवन २०८० साल वैशाख ९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने रु चार करोड ४२ लाखमा निर्माण हुने प्रदेश मेडिकल स्टोरसमेत डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो । सो अवसरमा कोभिड–१९ विरुद्धको खोप भण्डारणगृहको समेत उद्घाटन गरिएको छ ।
यो पनि – स्वास्थ्य र शिक्षाको सुधार प्राथमिकतामा छ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य र शिक्षाको सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । स्वास्थ्य र शिक्षामा समान अवसर र निःशुल्क हुन सकेमात्र समाजवादको बाटो तय हुने उहाँले बताउनुभयो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–४ स्थित पाल्हीनन्दन अस्पतालको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले सरकारले स्वास्थ्यको क्षेत्रमा नवीनतम् कार्यक्रमहरू ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान गठबन्धन सरकार सङ्घीयता कार्यान्वयन कसरी गर्नुपर्छ भनेर बाटो देखाउन लागिपरेको छ, स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ, सबैले समान सेवा पाउनुपर्छ अनि मात्र समाजवादको बाटो देखिन्छ, स्वास्थ्य र शिक्षा सुधार हाम्रो पहिलो प्राथमिकता हो ।”
मुख्यमन्त्री केसीले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच स्थापित गर्न प्रदेश सरकारर्ले घरदैलोमा डाक्टर कार्यक्रम’ सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । त्यसको लागि कार्यविधि निर्माण भइरहेको बताउँदै उहाँले आर्थिक अभावका कारण अस्पतालसम्म आउन नसकेका बिरामीलाई गाउँमै डाक्टर पठाएर उपचार सेवा दिइने बताउनुभयो ।
उहाँले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी सबै किसिमका उपचार प्रविधि, उपकरण र दक्ष चिकित्सकबाट सेवा दिने रणनीतिका साथ अघि बढेको बताउनुभयो । उहाँले सबै सामुदायिक विद्यालयलाई सुधार गरी अब्बल बनाउन मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिएको पनि बताउनुभयो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले ग्रामीण क्षेत्रमा स्थापना भएको अस्पतालको सेवा प्रभावकारी र व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन पाल्हीनन्दन गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो । पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिएको हो । जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्रमा अवस्थित यस गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल थिएन् । यहाँका बिरामी सदरमुकाम परासी, बुटवल, भैरहवा तथा भारतीय अस्पतालमा जानुपर्ने बाध्यता थियो ।
दुई जना चिकित्सकसहित स्वास्थ्यकर्मीबाट प्राथमिक स्वास्थ्य केन्द्रको सेवा निरन्तरता दिँदै व्यवस्थित प्रयोगशाला, बिरामी भर्ना गरी अस्पतालबाट सेवा सुरु गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।
प्रतिक्रिया