कांग्रेस उपसभापति पदको मतगणना सुरु

कांग्रेस उपसभापति पदको मतगणना सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको उपसभापति पदको मतगणना सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि मतगणना सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो । मतगणना तीन स्थानमा गरिएकाले आजै रातिसम्म नतिजा आउने अनुमान गरिएको छ । सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्येश्वरी शाहले उम्मेदवारी दिनुभएको थियो । मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रियसभा गृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित भइसक्नुभएको छ । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आइसकेलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यो पनि – पुनः मतगणना हुँदा वडाध्यक्षमा मल्ल एक मतले विजयी

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा रजबहादुर मल्ल पुनः एक मतले विजयी हुनुभएको छ । स्थानीय तहको निर्वाचन २०७४ जेठ ५ गते भएको मतगणनामा मल्लका प्रतिद्वन्द्वी दीपक कार्कीले मतगणना चित्त नबुझेको भन्दै अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

नेकपा एमालेको सूर्य चिह्नबाट विजयी हुनुभएका मल्लले कूल खसेको २९६ मतमध्ये १४२ मत पाउनुभएको थियो भने माओवादीको हँसिया हतौडा चिह्नबाट निर्वाचनमा लड्नुभएका कार्कीले १४१ मत पाउनुभएको थियो । कार्कीले मतपरिमाण चित्त नबुझेको भन्दै जिल्ला अदालत कालीकोटमा मुद्दा दायर गर्नुभएको थियो । जिल्ला अदालत कालीकोटले मल्लको पक्षमा नै फैसला गरेपछि कार्कीले उच्च अदालत जुम्लामा मुद्दा दायर गर्नुभएको थियो ।

जिल्ला अदालत कालीकोटले सोही गणनालाई सदर गर्ने फैसला गरेको भए पनि उच्च अदालत जुम्लाले पुनः मतगणना गर्न आदेश दिएको र आज पुनः मतगणना गर्दा मल्ल एक मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका प्रमुख धनबहादुर मल्लले बताउनुभयो । मत गणनामा १३ मत बदर भएको पुनः मतगणना हुँदा दलित महिलातर्फको उम्मेदवार रहनुभएकी कुजी विकले पहिलोको भन्दा एक मत बढी पाएको कार्यालयका प्रमुख मल्लले जानकारी दिनुभयो । “विकले पहिले मत गणना हुँदा १३७ मत पाउनुभएको थियो । अहिलेको गणनामा थप एक मत पाएर १३८ मत पुगेको छ ।” उहाँले भन्नुभयो, “माओवादी केन्द्रकी दलित महिलातर्फको उम्मेदवार दाना विकले १३५ मत पाउनुभएको छ ।” स्थानीय निर्वाचन भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पुनः मत गणना गरिएको हो ।