दक्षिण अफ्रिकाको एक अदालतले बुधबार पूर्वराष्ट्रपति याकोब जुमालाई जेल फिर्ता हुन आदेश दिएको छ । अदालतले उहाँलाई सेप्टेम्बरमा स्वास्थ्य समस्या देखिएको भनी परेको निवेदनमाथि सुनुवाई गर्दै उपचारका लागि अस्थायीरूपमा रिहा गरिएको थियो । जुमालाई स्वास्थ्यसम्बन्धी ‘पेरोल’मा राख्ने निर्णयलाई अदालतले ‘गैरकानुनी’ ठहर गर्दै बाँकी सजाय बिताउन पुनः जेलमा फिर्ता हुन उच्च न्यायालयका न्यायाधीश इलियास माटोजेनको फैसलामा उल्लेख छ ।
अदालतको बुधबारको फैसलाको केही घण्टाभित्रै जुमाका वकिलहरूले नयाँ अपील दर्ता गरेका छन् । यस कदमको अर्थ जुमा अपीलको सुनुवाई नभएसम्म जेलमा फर्कनुहुने छैन ।जुमाका कानूनी सल्लाहाकारले निवेदनमा अदालतको निर्णय ‘बिरामीको स्वास्थ्य सेवा, मर्यादा र अन्य मानव अधिकारको उचित वास्ता नगरेर क्रुर र अपमानजनक आदेश भएको बताइएको छ ।

७९ वर्षका जुमालाई अदालतको अवहेलना गरेको आरोपमा जुलाईमा १५ महिना जेल चलान गरिएको थियो । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिले आफूमाथि लागेको भ्रष्टाचार मुद्दामा अनुसन्धानकर्तालाई साक्षी दिन नमानेपछि उहाँलाई जेल चलान गरिएको थियो ।उहाँलाई जेल सजाय सुनाइएपछि पूर्व राष्ट्रपतिको गृह क्षेत्र, क्वाजुलु–नाटाल,मा हिंसात्मक विरोध तथा लुटपाट मच्चिएको थियो । उक्त विरोधको प्रभाब जुलाईमा जोहानेसबर्गमा फैलियो र त्यहाँ भएका झडपमा ३५० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
सन् १९९४ मा श्वेत–अल्पसंख्यक शासनको अन्त भएदेखि दक्षिण अफ्रिकामा यो सबैभन्दा घातक हिंसा थियो । वर्तमान राष्ट्रपति सिरिल रामाफोसाले उक्त अशान्तिलाई देशलाई अस्तव्यस्त बनाउने प्रयास भएको बताउनुभएको छ ।
सेप्टेम्बर ५ मा जुमालाई स्वास्थ्य उपचारका लागि अस्थायीरूपमा जेलमुक्त हुन अनुमति दिइएको थियो । यद्यपि उहाँलाई के समस्या थियो भन्नेबारे अदालतले केही जानकारी नगराइकन उपचारका लागि पठाएको भन्दै आदेशप्रति विपक्षी समूहबाट व्यापक असन्तुष्टि व्यक्त गरिएको थियो । जेलमा छँदा ‘सार्वजनिकरूपमा प्रकट नगरिएको स्वास्थ्य समस्या’ निको पार्न शल्यक्रियाको लागि उहाँलाई अस्पताल लगिएको थियो ।
विशेष भ्रष्टाचार विरोधी समितिद्वारा गरिएको जाँचको अलावा जुमालाई १९९९ मा पाँच युरोपेली कम्पनीबाट हतियार किन्ने सम्बन्धमा गरिएको भ्रष्टाचारको मुद्दामा पनि समावेश गरिएको छ । त्यतिबेला उपराष्ट्रपति रहेका जुमालाई फ्रान्सेली रक्षासम्बन्धी संस्था थेल्सबाट घूस लिएको आरोप लगाइएको छ । उहाँमाथि १६ वटा ठगी, घूस र अपराधको अभियोग लगाइएको छ ।



प्रतिक्रिया