माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा केसी निर्वाचित

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा केसी निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित हुनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश सदस्यमा निर्वाचित २११ सदस्यमध्येबाट केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो । माओवादी केन्द्रको यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’बाट केन्द्रीय सदस्यबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरेको थियो । त्यही विधिअनुसार केसी अध्यक्षमा निर्वाचित भएको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले जानकारी दिनुभयो ।

पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेकी रुकुमपश्चिम जिल्ला निवासी अध्यक्ष केसी कर्णाली प्रदेशसभा सदस्य हुनुहुन्छ । अध्यक्षबाहेक माओवादी केन्द्रको अन्य पदाधिकारी चयनका विषयमा छलफल चलिरहेको जनाइएको छ । अध्यक्ष आचार्यका अनुसार प्रदेश समितिमा केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको छ ।

माओवादी केन्द्रका १० जिल्ला क्रमशः रुकुमपश्चिमबाट ३२, सल्यानबाट २९ कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन् । केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसङ्ख्यक पाँच प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ ।

यो पनि – पुनः मतगणना हुँदा वडाध्यक्षमा मल्ल एक मतले विजयी

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा रजबहादुर मल्ल पुनः एक मतले विजयी हुनुभएको छ । स्थानीय तहको निर्वाचन २०७४ जेठ ५ गते भएको मतगणनामा मल्लका प्रतिद्वन्द्वी दीपक कार्कीले मतगणना चित्त नबुझेको भन्दै अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

नेकपा एमालेको सूर्य चिह्नबाट विजयी हुनुभएका मल्लले कूल खसेको २९६ मतमध्ये १४२ मत पाउनुभएको थियो भने माओवादीको हँसिया हतौडा चिह्नबाट निर्वाचनमा लड्नुभएका कार्कीले १४१ मत पाउनुभएको थियो । कार्कीले मतपरिमाण चित्त नबुझेको भन्दै जिल्ला अदालत कालीकोटमा मुद्दा दायर गर्नुभएको थियो । जिल्ला अदालत कालीकोटले मल्लको पक्षमा नै फैसला गरेपछि कार्कीले उच्च अदालत जुम्लामा मुद्दा दायर गर्नुभएको थियो ।

जिल्ला अदालत कालीकोटले सोही गणनालाई सदर गर्ने फैसला गरेको भए पनि उच्च अदालत जुम्लाले पुनः मतगणना गर्न आदेश दिएको र आज पुनः मतगणना गर्दा मल्ल एक मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका प्रमुख धनबहादुर मल्लले बताउनुभयो । मत गणनामा १३ मत बदर भएको पुनः मतगणना हुँदा दलित महिलातर्फको उम्मेदवार रहनुभएकी कुजी विकले पहिलोको भन्दा एक मत बढी पाएको कार्यालयका प्रमुख मल्लले जानकारी दिनुभयो । “विकले पहिले मत गणना हुँदा १३७ मत पाउनुभएको थियो । अहिलेको गणनामा थप एक मत पाएर १३८ मत पुगेको छ ।” उहाँले भन्नुभयो, “माओवादी केन्द्रकी दलित महिलातर्फको उम्मेदवार दाना विकले १३५ मत पाउनुभएको छ ।” स्थानीय निर्वाचन भएको झण्डै पाँच वर्ष पुग्न लाग्दा पुनः मत गणना गरिएको हो ।