सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाको मुख्य दायित्वको रूपमा रहेको बताउनुभएको छ । आज यहाँ २७ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पदा नै काठमाडौँको गहना रहेको भन्दै यसको पुनःनिर्माण र संरक्षण गर्नुपर्ने बताउनुभएको हो । मन्त्री श्रेष्ठले हरेक वर्ष ठूलो समस्याको रूपमा रहेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्यको शीघ्र समाधान गर्न पनि कामपाले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कर्मचारी र जनप्रतिनिधिलाई अन्य स्थानीय तहलाई पनि सिकाइ हुने गरी उदाहरणीय काम गर्न आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज र यसअघि एक पटक पनि कोरोनाविरुद्धको खोप नलगाएका नागरिकलाई आगामी चैत महिनासम्मा सरकारले खोप लगाउने तयारी गरेको छ ।”
कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मेघा हल निर्माण, मोनो रेल सञ्चालन र तीनकुनेको बुद्धपार्क निर्माणका लागि केन्द्र सरकारको पनि सहयोग आवश्यकता पर्ने हुँदा काम अघि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कामपाले गोर्खा भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा ठूलो फड्को मारेको छ ।” हाल विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पनि बताइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेका छन् । कार्यक्रममा विभिन्न सञ्चारमाध्ययममा कार्यरत १० जना पत्रकारलाई जनही रु ५० हजारका दरले सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने अन्य विभिन्न विधाका करिब २०० लाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।
यो पनि – स्थानीय तहले सम्भावनाको खोजी गर्नुपर्छ : मन्त्री झाँक्री
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले आफ्ना ठाउँको सम्भावना पहिल्याउनुपर्ने बताउनुभएको छ । आज महोत्तरीको धार्मिकस्थल मटिहानीका देवस्थलको दर्शन र पूजा, आराधना एवं अवलोकनपछि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि र सञ्चारकर्मीसँग मन्त्री झाँक्रीले स्थानीयतहको प्रयत्नमा सङ्घीय सरकारको साथ रहने उल्लेख गर्नुभयो । मन्त्री झाँक्रीले मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठको अवलोकन गर्न सँगै भगवान लक्ष्मीनारायणको दर्शन र पूजा, आराधना गर्नुभयो ।
मटिहानी भ्रमणका क्रममा मन्त्री झाँक्रीले अति पुरानो पुरातात्विक महत्वको लक्ष्मीसागर तलाउको अवलोकन गर्नुभयो । लक्ष्मीसागर अघि त्रेता युगमा रामसीताको विवाहमा वेदि बनाउन माटो खनिएको ठाउँ भएको विश्वास गरिन्छ । मन्त्री झाँक्रीले मटिहानी धार्मिकस्थलका रुपमा परिचित ठाउँ भएको हुँदा यस ठाउँको विकासका लागि धार्मिक पर्यटनभित्रका विविध सम्भावनाको खोजी गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।
“यो मटिहानी त्रेता युगकालीन कथानकसँग जोडिएको पवित्रस्थलका रुपमा परिचित छ”, मन्त्री झाँक्रीले भन्नुभयो, “यो इतिहास र जनविश्वासलाई टेकेर धार्मिक पर्यटन विकासको सम्भावना पहिल्याउनुहोस्, सरकार तपाईहरूका साथमा छ ।” उहाँले मटिहानीको शहरी विकासका लागि स्थानीय तह र प्रदेश सरकारले पहलकदमी लिनुपर्ने र सङ्घीय सरकारको साथ सहयोग रहने विश्वास दिलाउनुभयो ।
मन्त्री झाँक्रीलाई नगरप्रमुख मण्डलले लक्ष्मीनाराण मठ, लक्ष्मीनारायण मन्दिर र लक्ष्मीसागरको विस्तृत जानकारी गराउँदै आफ्नो नगर संस्कृत शिक्षाको आदि भूमि रहेको बताउनुभयो । मटिहानीमा बालगुरु षडानन्दले शिक्षा आर्जन गर्नुभएको मानिने ३०३ वर्ष पुरानो संस्कृत पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयका नाउँमा सञ्चालित छ । सँगै यही नै संस्कृततर्फ स्नातकोत्तरसम्म अध्ययन, अध्यापन हुने महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाउँमा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) सञ्चालित छ ।
मन्त्री झाँक्रीले धार्मिक पर्यटनको विकास प्रयत्नमा नगरपालिकाले सम्पन्न गरेको अघि बढाएका योजनाको जानकारी लिनुभयो । उहाँलाई नगरका तर्फबाट नगर प्रमुख मण्डलले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । मन्त्री झाँक्रीको भ्रमणटोलीमा शहरी विकास मन्त्रालयका सचिब मणिराम गेलालको पनि उपस्थिति थियो ।



प्रतिक्रिया