राष्ट्रियसभा निर्वाचन : दल दर्ताको सूचना बिहीबार

राष्ट्रियसभा निर्वाचन : दल दर्ताको सूचना बिहीबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र तुल्याइएको छ । आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गर्दैछ । उक्त निर्वाचनका सन्दर्भमा यसअघि नै निर्वाचन कार्यक्रम र कार्यतालिका प्रकाशित भइसकेको छ । निर्वाचन कार्यतालिका र कार्यक्रमअनुसार आन्तरिक तयारी कार्य तीव्ररुपमा अघि बढिरहेको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।

राजनीतिक दल दर्ताका लागि आगामी पुस १ देखि १० गतेसम्मको समय उपलब्ध हुने जानकारी दिएको छ । राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य हुनुहुन्छ ।

आगामी पुस १७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम भने पुस २० गते हुनेछ । समाजका प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो । आगामी निर्वाचन सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहका सात पदका लागि हुन लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट विज्ञका रूपमा मनोनित रामनारायण बिडारीको पदावधि पनि फागुन २० मै समाप्त हुँदैछ ।

उक्त निर्वाचनमा भाग लिने उम्मेदवारलाई पुस २५ गते निर्वाचन चिह्न प्रदान गरिने छ । पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि प्राप्त गर्ने छन् । माघ १२ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र पालिका प्रमुख र उपप्रमुख रहनुहुनेछ । उक्त निर्वाचनका लागि अर्थ मन्त्रालयबाट रु पाँच करोड ९० लाख बजेट आयोगले प्राप्त गरिसकेको छ । निर्वाचनका लागि प्रदेशगतरुपमा १५ कार्यालय स्थापना हुनेछ ।

यो पनि – कांग्रेस उपसभापति पदको मतगणना सुरु

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको उपसभापति पदको मतगणना सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि मतगणना सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।मतगणना तीन स्थानमा गरिएकाले आजै रातिसम्म नतिजा आउने अनुमान गरिएको छ । सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्येश्वरी शाहले उम्मेदवारी दिनुभएको थियो । मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रियसभा गृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित भइसक्नुभएको छ । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आइसकेलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।