कांग्रेस उपसभापति पदको मतगणना जारी

कांग्रेस उपसभापति पदको मतगणना जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि सुरु भएको हो । राति केहीबेर अघिसम्म एक हजार ३०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले ५७८, धनराज गुरुङले ५६२, विजयकुमार गच्छदारले ५१३, डा चन्द्र भण्डारीले ५०४, सुजाता कोइरालाले १८०, महेश आचार्यले १२३ र दिव्येश्वरी शाहले ३५ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिनुभयो । मतगणना तीन स्थानमा गरिएको छ ।

सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिनुभएको थियो । जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा आज मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसक्नुभएको छ । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने समितिले जनाएको छ ।

यो पनि – सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज परिषद्का सदस्य सचिव सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । सरकारको सिलवाललाई हटाएर टङ्क घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णयविरुद्ध सिलवालले सर्वोच्च अदालत रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले आगामी पुस १२ दुवै पक्षलाई छलफलमा झिकाउने आदेश गरेको छ ।

सर्वोच्च अदालतले यसअघि ओली सरकारले नियुक्ति गरेको तर वर्तमान सरकारले हटाएको नेपाल स्काउटका लोकबहादुर भण्डारी, युवा स्वरोजगार कोषका कल्याण रोक्का र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा कृष्णप्रसाद ओलीलाई पुनर्बहाली गरेको छ । अदालतको आदेशसँगै सदस्य सचिवका रूपमा सिलवाललाई काम गर्न बाटो खुलेको छ ।