‘कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’

‘कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताउनुभएको छ ।
कांग्रेसको उपसभापतिमा भर्खरै पराजित हुनुभएकी नेत्री कोइरालाले आज एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधीको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने बताउनुभएको हो । “कांग्रेस पार्टी र राज्यका हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा स्थान पाएको छ”, विज्ञप्तिमा भनिएको छ ।

नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको सङ्घर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । उहाँले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधँै प्रेरित रहेको जनाउँदै पार्टी र देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताउनुभयो ।नेत्री कोइरालाले उपसभापतिमा आफूसँग प्रतिस्पर्धा गरेर विजयी हुनुभएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

यो पनि – कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको थियो ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसक्नुभएको छ ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।