भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ । अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो ।
अस्पतालका बायो मेडिकल इञ्जिनियर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उक्त उपकरणले दुई हजार सिलिण्डर बराबरको ग्यास अक्सिजन आपूर्ति गर्दछ । यस उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाइमा अक्सिजन जडान गरिँदै छ । यसै हप्ता सम्पूर्ण जडान कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अक्सिनको माग उच्च रहेको समयमा यसबाट आपूर्ति गर्न सहज हुने खनालका भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार यो उपकरण जडान गरेसँगै अक्सिजन उत्पादनको लागत घट्ने छ । ट्याङ्कीमा तरल अक्सिजन ल्याएर यहाँको ट्याङ्कीमा भरेपछि आवश्यकताअनुसार यसबाट आपूर्ति गर्न सकिने छ । युएसएडको अनुदानमा प्राप्त उपकरण स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई उपलब्ध गराएको पौडेलले जानकारी दिनुभयो ।
यसअघि अस्पतालमा ग्यास अक्सिजन प्लान्ट रहेको छ । उक्त प्लान्टबाट २४ घण्टामा ७५ सिलिण्डर बराबरको अक्सिजन उत्पादन हुँदै आएको छ । अस्पतालमा आवश्यकताअनुसार अन्यत्रबाट सिलिण्डर मगाएरसमेत माग पूर्ति गरिँदै आएको छ । कोभिड–१९ को महामारीको समयमा जिल्लामा अक्सिजनको आपूर्तिमा कमी आएको थियो । उक्त समयमा उच्च गति (हाइफ्लो) को अक्सिजन आवश्यकता हुँदा पूर्ति गर्न कठिन भएको थियो । सो समयमा भरतपुर अस्पतालमा दैनिक २०० सिलिण्डर अक्सिजन माग भएको थियो ।
तरल अक्सिजन उपकरण जडान गरेसँगै अक्सिजनको माग उच्च रहेको समयमा सहज हुने प्रा डा पौडेलले बताउनुभयो । अस्पतालमा अर्काे अक्सिजन प्लान्टका लागि भवन निर्माणको कार्य भइरहेको छ । एनआरएनएको सहयोगमा उक्त प्लान्ट जडान गरिँदै छ । चीनबाट उपकरण खरिदको प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । नयाँ प्लान्ट जडान र तरल अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन किन्नुपर्ने बाध्यता हट्ने छ । सङ्घीय अस्पताल भरतपुरमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । सरकारी अस्पतालमा खर्च कम हुने भएकाले यस अस्पतालमा बिरामीको चाप बढ्दो छ ।
यो पनि – विद्यालयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन
जिल्ला निर्वाचन कार्यालयले यहाँका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दैछ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलका अनुसार उक्त कार्यक्रम मङ्सिर २७ गते जिल्लाको पुर्चौडी नगरपालिकामा रहेको डिलेश्वरी माविबाट सुरु भएको र प्रत्येक स्थानीय तहको एक विद्यालय छनोट गरेर अन्य सबै पालिकामा पनि उक्त कार्यक्रम सञ्चालन हुनेछ । उहाँले भन्नुभयो, “कार्यक्रम सञ्चालन हुने विद्यालय छनोटसँगै कार्यक्रम पनि सञ्चालनको तयारीमा छौँ, त्यसअघि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको नयाँ सरकारी सामुदायिक विद्यालय छनोट गर्छौं ।”
माविस्तरका विद्यालय कार्यक्रम सञ्चालन भइरहेको तथा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई मतदाता शिक्षा दिइरहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत बदर नहोस् भन्नका लागि र विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
एक विद्यालयका कम्तिमा १५० विद्यार्थी सहभागी गर्ने योजना रहेको छ । निर्वाचन आयोगको वार्षिक कार्यक्रमअनुसार नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको हो । गत वर्ष जिल्लाका आठ विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लामा हाल एक लाख ४८ हजार बढी मतदाता रहेका छन् । यसका साथै हाल पालिकास्तरबाटै फोटोसहितको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम पनि सञ्चालन गरिएको छ ।



प्रतिक्रिया