शुक्रबारदेखि हिमपातको सम्भावना

शुक्रबारदेखि हिमपातको सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममासमेत गिरावट आई चिसो अझ बढ्ने सम्भावना रहेको विभागले जनाएको छ । सो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम यस वर्षकै कम तीन दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव सात डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस छ ।

यो पनि – नदीमा एक सय गोही छोड्ने तयारी

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय घडियाल गोही नदीमा छोड्ने तयारी गरिएको छ । केही दिनअघि १० गोही राप्ती नदीमा छाडिसकिएको छ । गोही प्रजनन केन्द्रका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार यस आर्थिक वर्षमा गोही नदीमा छाड्ने तयारी गरिएको छ । प्रजनन केन्द्रमा हाल ८५० गोही छन् । हुर्किएका चार÷पाँच वर्षका गोही छाडिने छ । गतवर्ष नदीमा गोही छाडिएन । गोहीको सङ्ख्या बढ्दै जाँदा खर्चिलो भएकाले यसवर्ष १०० हाराहारी गोही छोड्ने तयारी गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार राप्ती, नारायणी र रिउको तल्लो भागमा गोही छोड्ने विषयमा छलफल भइरहेको छ । पछिल्ला वर्षमा राप्ती नदीमा मात्र गोही छाडिदै आएको छ । हालसम्म विभिन्न नदीमा एक हजार ५८५ गोही छाडिसकिएको छ ।

राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कमला र बबई नदीमा गोही छोड्ने गरिन्छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन ।

नेपालका नदीमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन् । नदी प्रदूषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । हुर्किएका ती र प्रजनन केन्द्रमा पारेका अण्डाबाट कोरलेका गोही नदीमा छाड्ने गरिन्छ ।