नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उहाँहरु निर्वाचित हुनुभएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सम्पन्न मतगणनामा अनुसार थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले एक हजार एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
चार हजार ६८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याउनुभयो भने शर्माले दोस्रो स्थानमा जीत हासिल गर्नुभएको छ । महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको थियो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार हुनुहुन्थ्यो ।
यो पनि- पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ ।पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उहाँले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताउनुभएको थियो ।
नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिनुभएको थियो । नेता पौडेलले आफू र महामन्त्री डा शशाङ्क कोइराला पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियानमा लागेको बताउनुभएको थियो ।
भेटमा नवनिर्वाचित उपसभापति गुरुङले आफू पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचनमा विपक्षीसँगको प्रतिस्पर्धामा अब्बल बनाउनुपर्ने बताउनुभएको थियो । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा आफू लाग्ने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया