उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् । हुम्लामा मङ्सिर दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । तापक्रम माइनसमा पुगेपछि यहाँका नागरिक नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत शहरमा जाडो छल्न पुग्ने गर्दछन् । जिल्लामा अत्यधिक चिसो बढेपछि यहाँका नागरिक जिल्ला बाहिरिने गरेका छन् ।
मङ्सिरको मध्यान्नमै हिमपात भएसँगै तापक्रम माइनस डिग्रीमा झरेपछि दैनिक नेपालगञ्ज र काठमाडौँ बाहिरिनेको घुइँचो लाग्ने गरेको सिमकोट विमानस्थल स्रोतले जनाएको छ । दसँैँ अगावैदेखि व्यस्त रहेको एकमात्रै सिमकोट विमानस्थल यतिखेर पनि व्यस्त देखिएको छ ।
चिसो छल्नका लागि बेंसी झर्नेमा विशेष गरेर उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक छन् । हिउँदका तीन महिना पुस, माघ र फागुनमा उतैतिर न्यानो हुने भएको हुँदा वृद्धवृद्धा जिल्ला बाहिरिन थालेका छन् । त्यस्तै जिल्लाको मध्य क्षेत्र रहेको सर्केगाड, दक्षिण क्षेत्र अदानचुली, ताँजाकोट र चङ्खेली गाउँपालिकाका नागरिक भने गाडीमा बाहिरिने गरेका छन् । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट अझैसम्म पनि सडक सञ्जालले नछोएको हुँदा माथिल्लो भेगका नागरिकलाई सजिलै जिल्ला बाहिर जान समस्या हुने गरेको छ
यो पनि –
सदरमुकामबाटै उपल्लो डोल्पाको सुरक्षाः हिमपातका कारण खोप कार्यक्रम प्रभावित
जाजरकोट, १ पुस (रासस) ः पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन अवस्थामा पुगेको छ । उपल्लो डोल्पाका तीन वटा पालिकामा रहेका प्रहरीचौकी ज्यान जोगाउने भन्दै सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो । सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । “प्रहरीचौकी रहेका घर रित्ता छन् । प्रहरी सदरमुकाम दुनै आइसकेका छन्”, दुनैका प्रेमा गुरुङले भन्नुभयो । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएसँगै उपल्लो डोल्पा सुरक्षाका हिसाबले जोखिममा परेको छ ।
जिल्लामा सबैभन्दा बढी चोरी, निकासी तथा पैठारी हुने ठाउँमध्येमा उपल्लो डोल्पा पर्दछ । बहुमूल्य जडीबुटी, जङ्गली जनावर तथा पुराना बुद्धका मूर्ति चोरी हुनेक्रम रोकिएको छैन । प्रहरी चौकी नै नभएपछि झन् चोरी गर्नेको मनोबल बढ्ने पक्का भएको छ । तीन पालिकामा २१ वडा प्रहरीविहीन छन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार छार्का ताङसुङ गाउँपालिकाको कागकोट प्रहरीचौकी र शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ प्रहरी चौकीको प्रहरी उपल्लो डोल्पामा रहेका छन् । अहिले सदरमुकाम दुनैबाट नै उपल्लो डोल्पाको सुरक्षा दिने गरेको डोल्पाका प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । डोल्पो बुद्ध गाउँपालिकाको धो र टाक्सी, शे–फोक्सुण्डो गाउँपालिकाको निजालगुम्बा, भिजेर र रापको प्रहरीचौकीका प्रहरी जिल्लामा गाभिएका छन् ।
डोल्पा सबैभन्दा ठूलो जिल्ला हो । स्थानीय तहको सहयोग पाएको भए प्रहरीचौकी उपल्लो डोल्पामै राख्ने सकिने डिएसपी थापाले बताउनुभयो । “अहिले पनि सहयोग त पाइएको छ, अझै यो भन्दाबढी सहयोगको अपेक्षा हामीले गरेका थियौँ”, उहाँले भन्नुभयो । उपल्लो डोल्पामा बस्नका लागि अहिलेका समयमा लत्ताकपडादेखि चश्मा, बुट चाहिने गर्दछ जो प्रहरीसँग अहिले छैन उहाँको भनाइ छ । अहिले उपल्लो डोल्पामा भारी हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जानसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
हिमपातले रोकियो कोभिड र नियमित खोप
उपल्लो डोल्पामा भारी हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्ध लगाउने खोपसमेत रोकिएको छ । मङ्सिरदेखि चैतसम्म खोप बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो । त्यस्तै बर्थिङ सेन्टरसमेत बन्द हुँदा यहाँ घरमै सुत्केरी हुने गरेको पाइएको छ । तीन पालिकामा बर्थिङ सेन्टरसमेत नरहेको उहाँले बताउनुभयो । सबै उपल्लो डोल्पाका महिला घरमै असुरक्षितरुपमा सुत्केरी हुने गरेको शाहीले जानकारी दिनुभयो ।



प्रतिक्रिया