समयमै योजना सम्पन्न गराउन स्थानीय तहको सक्रियता

समयमै योजना सम्पन्न गराउन स्थानीय तहको सक्रियता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँकेका स्थानीय तहले निर्माणाधीन योजना समयमै सम्पन्न गराउन सक्रियता देखाएका छन् ।  स्थानीय तहमा सञ्चालित तथा निर्माणाधीन योजना समयावधिमै सम्पन्न गराउन अनुगमनमा तीव्रता दिएका छन् । दैनिकजसो योजना अनुगमन गरी समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई आवश्यक निर्देशन दिने कार्य भइरहेको जानकी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र निर्माणाधीन सडक, पुल, गाउँपालिका प्रशासनिक भवनको नियमितरुपमा अनुगमन गरी समयावधि भित्रै काम सम्पन्न गर्न ताकेता गरिएको उहाँले बताउनुभयो । गाउँपालिकामा सञ्चालित योजनालाई तोकिएको समयमा पूरा गराउने उद्देश्यले डुडुवा गाउँपालिकाले अनुगमनमा तीव्रता दिएको छ । पालिकामा सञ्चालित ठूला तथा साना योजनाको अवस्था बुझ्न र निर्माण कम्पनीलाई ताकेता गर्न अनुगमनलाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

उहाँले गाउँपालिकामा सञ्चालित सबैभन्दा ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा विभिन्न धार्मिकस्थलमा निर्मित भौतिक पूर्वाधारको अनुगमन गरिएको जानकारी दिनुभयो । गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम करिब ८० प्रतिशत पूरा भएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । प्रशासनिक भवन नयाँ आर्थिक वर्षअघि नै सञ्चालनमा ल्याई गुणस्तरीय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्नेतर्फ ध्यान दिएको उहाँको भनाइ छ ।

बाँकेको नरैनापुर गाउँपालिकाले पनि योजना समयावधिमै सम्पन्न गराउन आवश्यक तदारुकता देखाएको छ । निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको अनुगमन गरी समयमै काम सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार रु छ करोड ८० लाखको लागतमा निर्माणाधीन भवनको अनुगमन गरी सम्झौता अवधिमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी जुगल प्रतिष्ठा जेवीलाई ताकेता गरिएको छ ।

यो पनि – सेनाको निःशुल्क स्वास्थ्य शिविर ः डेढ सय नागरिक लाभान्वित

सैनिक नागरिक सम्बन्ध विस्तार गरि राष्ट्रिय एकता बढाउन बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको समन्वयमा गुल्मले दशरथचन्द नगरपालिका– २ देहिमाडौँस्थित तालिम केन्द्रमा दुई दिनसम्म शिविरको आयोजना गरेको हो ।

स्वास्थ्य शिविरबाट १४६ नागरिक लाभान्वित भएका हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले बताउनुभयो । यसका साथै तालिममा सहभागी ४० जना सेनाका कर्मचारीको पनि स्वास्थ्य परीक्षण गरिएको छ ।शिविरमा आर्थिक अभाव तथा अशक्तताका कारण जिल्ला अस्पताल जान नसकेका ज्येष्ठ नागरिक तथा अन्य बिरामी र बहालवाला सैनिकको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ । “नागरिक र सेनाको सम्बन्ध विस्तार गर्न स्वास्थ्य शिविरको आयोजना गरेका छौँ”, सेनानी रानाले भन्नुभयो, “हामीले स्वास्थ्य शिविरका साथै अन्य समयमा पनि सामाजिक कार्यमा पनि संलग्न हुँदै आएका छौँ । यसले नागरिक र सेनाको सम्बन्ध निकट हुन जाने विश्वास छ ।”

स्वास्थ्य कार्यालयले राष्ट्रसेवक कर्मचारीको नियमित स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत गुल्मसँग सहकार्य गरेर नागरिकको घरदैलोमै गएर शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सेनाको प्रस्तावमा हामीले राष्ट्रसेवक कर्मचारी नियमित स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सर्वसाधारण नागरिकको पनि स्वास्थ्य जाँच गरी औषधि वितरण गर्न शिविर सञ्चालन गरेका हौँ ।”

गाउँमै शिविर सञ्चालन हुँदा स्थानीय बासिन्दा खुसी भएका छन् । शिविरले आर्थिक अवस्था कमजोर भई जिल्ला अस्पतालसमेत जान नसकेकालाई सहयोग पुगेको छ । सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट गाउँमै डाक्टरको सल्लाह र जाँच गर्न पाउँदा खुसी लागेको स्थानीय विष्णुदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “घर नजिकै शिविर आयोजना गरेपछि स्वास्थ्य जाँच गर्न सजिलो भयो, सेनाले नियमितरुपमा यस्ता शिविरको आयोजना गर्दै गयो भने आगामी दिनमा पनि सजिलो हुन्थ्यो ।”