काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको दिन उद्धार उडान, मानवीय सहायता एवं सरकारको निर्देशनमा हुने उडानबाहेक सबै आन्तरिक हवाई उडान बन्द हुने भएको छ ।
निर्वाचन आयोगले जारी गरेको सवारी आवगन तथा व्यवस्थापनसम्बन्धी मापदन्ड–२०७९ जारी गरेसँगै आइतबार विज्ञप्तिमार्फत आन्तरिक वायुसेवा प्रदायक कम्पनीको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले आफ्ना यात्रुलाई निर्वाचनको दिन हवाई उडान नहुने जानकारी गराएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले यस संघमा आवद्ध सबै सदस्य वायुसेवा कम्पनीको नियमित व्यावसायिक उडान बन्द हुने जानकारी गराएका हुन् ।
यसैगरी, निर्वाचनको दिन पास लिएका सवारी साधनले मात्र नेपाल भ्रमणमा आएका पर्यटक ओसार्न पाउने भएका छन् । सरकारले गरेको यस्तो व्यवस्थाले निर्वाचनको दिन विभिन्न देशबाट नेपाल आएका पर्यटकले सहज रूपमा यातायात सेवा पाउने भएका हुन् ।
जसका लागि आगामी ३० वैशाखको निर्वाचनका दिन पर्यटक ओसार्न नेपाल पर्यटन बोर्डको सिफारिसमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले पास वितरण गर्नेछन् ।
आन्तरिक हवाई उडान समेत बन्द हुने निर्वाचनको दिन नेपाल पर्यटक आउने जानकारी पाएका पर्यटक सेवाका पर्यटन व्यवसायीले आफ्नो कम्पनीमार्फत आफ्ना पाहुनाको सेवाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलसम्म र नेपालबाट विदेश फर्कन लागेका पाहुनालाई होटलबाट विमानस्थलसम्म लैजान यातायात सेवा लिन पाइने गरी पासको व्यवस्था गरिएको छ ।
सोही व्यवस्थाअनुसार सवारी साधन सञ्चालन पास वितरण हुने भएको हो । यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रयोजनमा भन्सार विभागको सिफारिसमा प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट पनि सवारी पास जारी हुनेछ ।
विमानस्थल अध्यागमन कार्यालयको प्रयोजनका लागि अध्यागमन विभागको सिफारिसमा अत्यावश्यक सवारी पास लिन सकिने भएको छ । यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा हवाई उडानसँग सम्बन्धित कार्यालयले पास लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
सो दिन अन्तर्राष्ट्रिय उडानका माध्यमबाट यात्रा गर्ने यात्रुको हकमा सम्बन्धित व्यक्तिको राहदानी, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन विमानस्थलसम्म र त्रिभुवन विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमन सहजीकरणको व्यवस्था काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मिलाउनेछन् । सो दिन आन्तरिक उडानका विमान उडानका विमान सेवा भने बन्द हुने विमानस्थल कार्यालयले जानकारी गराएको छ ।
सो दिन हेलिकोप्टरबाट गर्नुपर्ने गम्भीर बिरामीको उपचारार्थ र अन्य आपत्कालीन तथा उद्धार उडान मात्र सञ्चालन हुनेछ ।
निर्वाचनको दिन आन्तरिक उडान नहुने आयोगको निणर्यसँगै अहिलेदेखि नै आन्तरिक वायुसेवा कम्पनीका सञ्चालक तथा सम्बन्धित ट्राभल व्यवसायीले आगामी ३० वैशाखको हवाई टिकट बिक्री नै नहुने जानकारी गराइरहेका छन् । निजी वायुसेवा कम्पनी बुद्ध, यति, श्रीएयरलाइनस, गुण एयरलगायतले अहिलेदेखि नै सम्बन्धित यात्रुहरूलाई यस्तो जानकारी गराउन थालेका हुन् ।
स्थानीय तहको निर्वाचनको दिन आउन अब जम्मा ४ दिन मात्र बाँकी छ । सोे निर्वाचनको दिन सार्वजनिक सवारी साधन चल्न पाउने छैनन् । निर्वाचन सुरक्षालाई ध्यान दिएर सो दिन अत्यावश्यकबाहेकका सवारी साधन चलाउन नपाइने नियम निर्वाचन आगोगले बनाएको हो । आयोगका अनुसार ३० वैशाखमा आन्तरिक हवाई उडान समेत बन्द हुनेछ । यस दिन अन्तर्राष्ट्रिय उडान भने सञ्चालन हुनेछन् । जसको सहजीकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले गर्नेछन् ।
निर्वाचनको दिन यात्रा गर्ने हवाई यात्रुले हकमा राहदानी, भिसा र हवाई टिकट साथमा हुनेहरूलाई मात्र यात्रा गर्न दिइनेछ । निर्वाचन आयोगले जानकारी गराएअनुसार अत्यावश्यक सेवाका एम्बुलेन्स, पानीको ट्यांकर, दमकल, दुरसञ्चार सेवा, शवबहान, अस्पताल सेवा, बिजुली सेवाका लागि अनुमति लिनुपर्ने छैन । यसैगरी, विदेशी पर्यटकले नेपाल पर्यटन बोर्डको सिफारिसमा प्रमुख जिल्ला अधिकारीसँग पास लिएर मात्र यात्रा गर्न पाउनेछन् । सञ्चारकर्मीले पनि सम्बन्धित मिडिया हाउसको सिफारिसमा निर्वाचन आयोगबाट आफूले चलाउने सवारी साधन सञ्चालनका लागि अनुमति लिनुपर्ने छ ।
त्यसैगरी, निर्वाचनको दिन मतदान गर्नका लागि आफंै हिंडडुल गर्न नसक्ने अशक्त व्यक्तिको हकमा भने बासस्थानदेखि मतदान केन्द्रसम्म आवतजावत गर्न मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न सकिनेछ ।
त्यस्ता, सवारी साधनमा अशक्त व्यक्ति र सहयोगका लागि उनको साथमा एकाघरको एक जना व्यक्ति मात्र रहन सक्ने व्यवस्था मिलाइएको छ ।
rajdhanidaily



प्रतिक्रिया