काठमाडौंमा दुई दिने थारू माघी महोत्सव हुँदै

काठमाडौंमा दुई दिने थारू माघी महोत्सव हुँदै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपत्यकामा काम विशेषले बस्ने थारू समुदायले दुई दिने थारू माघी महोत्सव २०७९ मनाउने भएका छन् । पुस ३० र माघ १ गते टुँडीखेलमा हुने महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुनेछ ।

थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समिति, काठमाडौंको आयोजनामा हुन गइरहेको महोत्सवमा करिब एक सय वटा स्टल रहने आयोजकले जनाएको छ । थारू कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजकत्व तथा विभिन्न २५ वटा थारू संघ संस्थाको सहसंयोजनमा हुने महोत्सवमा थारु सांस्कृतिक प्रदर्शनसँगै, भेषभुषा, अधिकारका सवालबारे बहस हुने मूल आयोजक समितिका संयोजक तथा थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो ।

थारु समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएको छ । यसअघि कोभिडकालमा महोत्सब हुने सकेन । थारू समुदायको कला, संस्कृति, भेषभुषाको प्रदर्शन र समुदायको राजनीतिक मागमुद्दा सम्बोधनका लागि खवरदारी गर्ने थलोको रुपमा मनाइँदै आएको महोत्सवमा यस वर्ष करिब पन्ध्र लाख रुपियाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।

थाकसका सहमहामन्त्री मिनराज थारुले महोत्सव नाफामुखी नभएर समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारको प्रचार र खवरदारीका लागि आयोजना गर्ने गरिएको बताउनुभयो । यस वर्ष महोत्सव पुस ३० र माघ १ गते दुई दिन हुने उहाँले जानकारी दिनुभयो । महोत्सवको करिब सबै तयारी पूरा भइसकेको उहाँले बताउनुभयो ।

महोत्सवमा थारू हस्तकला, थारू खानाका परिकार, थारु पत्रपत्रिका तथा जर्नल, थारु नृत्य प्रदर्शनसहित राजनीतिक मुद्दामा बहस हुने महोत्सव आयोजक समितिका सदस्यसचिव कानुनलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार महोत्सवले थारु पहिचानको संरक्षण तथा सम्बर्धन गर्ने काम गरिरहेकाले महोत्सवको महत्व रहेको बताउनुभयो ।

थारू विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष तथा महोत्सव टेन्ट व्यवस्थापन उपसमितिका संयोजक चन्द्रप्रसाद थारुले महोत्सवका लागि आर्थिक स्रोत संकलन तथा अन्य व्यवस्थापनको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा आउने दर्शकलाई निःशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । महोत्सवमा करिब एक लाख दर्शकले अवलोकन गर्ने उहाँको भनाइ छ ।

माघे संक्रान्तिलाई थारू समुदायले सबैभन्दा ठूलो पर्वको रुपमा मनाउँछन् । पश्चिमा थारू समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्वलाई ठाउँअनुसार माघ, माघी, तिला संक्राइट, खिचराका नामले पनि चिनिन्छ । यस पर्वमा विशेषगरी थारू परिकारमा ढिक्री, अनदीको भात (चिचर), झझरा, तिलको लड्डु, भुजा, सुंगुरको मासु, माछा तथा सिध्राको परिकार, गंगटा, मुसाको चटनी, लैया, जाँरको झोल, महुवाको रक्सी, सिन्की तथा वयरको चटनी रहने गर्छन् ।

महोत्सवको अवसरमा रक्तदान कार्यक्रम, मोटरसाइकल र्‍याली, खेलकुद प्रतियोगिता, जिता मार्ने कार्यक्रम, झाँकी प्रदर्शन गरिने आयोजक समितिले जनाएको छ । माघ महिनामा थारू समुदायले माघी दिवानी मनाउने र हरहिसाव गरेर खातापाता नयाँ सञ्चालन गर्ने गर्छन् । स्वतन्त्रताको प्रतीकको रुपमा पनि थारू समुदायले यस पर्वलाई मनाउने गर्छन् ।

कमैया प्रथा कायम रहेकाबेला माघ १ गतेदेखि नै कमैयाहरुलाई जमिन्दारले खरिद बिक्री गर्ने र सौंकीमा मोलमोलाई गर्ने गर्थे । सरकारले २०५७ साउन २ गते मुक्त कमैया देश भनेर घोषणा गरेपछि कमैया प्रथाको अन्त्य भएको थियो । त्यही सम्झनामा माघीलाई थारू समुदायले स्वतन्त्रताको प्रतीकको रुपमा मनाउन थालेका हुन् ।