निर्देशन होइन, नीति देऊ !

निर्देशन होइन, नीति देऊ !

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नगेन्द्रराज पौडेल
विगतमा एउटा यस्तो अवस्था पनि थियो, जुन बेला शिक्षा सेवाका प्राविधिकहरू काम नपाएर चौरमा घाम ताप्दै थिए, उता शिक्षामन्त्री चित्रालेखा यादव भक्तपुरका केही विद्यालयमा पसेर निरीक्षण गर्दै थिइन् । मन्त्री आफंै विद्यालयमा पस्नुुभन्दा विद्यालय निरीक्षणकै लागि नियुक्त प्राविधिकलाई विद्यालय पस्ने वातावरण (नीतिगत व्यवस्था) मिलाइदिए हुन्थ्यो भन्ने स्वर त्यतिबेला निकै सुनिन्थ्यो ।

जुन बेला लोड सेडिङको चर्को समस्या थियो, त्यतिबेला ऊर्जामन्त्री गोकर्ण विष्ट भक्तपुरमा अवैध तार जोडेर घरमा बिजुली बाल्नेको लाइन काट्न आफैं विद्युत्को खम्बामुनि पुगेकोे दृश्य त्यतिबेला सार्वजनिक भएको थियो । मन्त्री भक्तपुरको तार काटन हिंडेको बेला चितवन, बारा, पर्सालगायतका स्थानमा अवैध तार जडान गरी विद्युत् चोरी गर्नेहरू छ्यापछ्याप्ती थिए । मन्त्री विष्टको बहिर्गमनसँगै तार काट्ने कामको पनि अन्त्य भयो । मन्त्री आफंै तार काट्न हिंडनुको सट्टा अवैध बिजुली चोरी गर्नेहरूलाई कडा कारबाहीका लागि नीतिगत व्यवस्था गर्न सकेको भए विष्टपछिका मन्त्रीहरूलाई उनको काम पछ्याउन सहज हुन्थ्यो भन्ने स्वर त्यतिबेला निकै सुनिन्थ्यो ।

काठमाडौं महानगरका मेयर बालेन साह आफैं अवैध संरचना भत्काउन नगरबासीका घर घरमा डोजरसहित पुगेको र भीडमा वादप्रतिवाद गरेको घटनासँग परिचित नहुने को पो होला र ? जुनसुकै डोजर पनि आजकल बालेनको डोजर भएको छ । अर्थात्, बालेनको डोजर आजकल ब्रान्ड नै बनेको छ ।

व्यवस्थापनमा नयाँ सिद्धान्त प्रतिवाद भएको छ । व्यवस्थापकले गर्छ कि गराउँछ ? यो २१औं शताब्दीको नयाँ बहसका रूपमा आएको छ । त्यसमा पनि राजनीतिक नेतृत्वले गर्ने हो वा गर्नका लागि मार्ग प्रसस्त गराइदिने हो । यो आजको यक्ष प्रश्न हो । गर्न भनी खटिएकाहरू घाम ताप्ने, गर्ने वातावरण बनाइदिनेहरू फिल्डमा खटिने चलन किमार्थ राम्रो मानिँदैन । प्रमुख जिल्ला अधिकारीले हो जिल्लामा गोली हान्ने तर यिनीहरू आफंै राइफल वा भरुवा बन्दुक बोकेर हिंडेको देखिँदैन । लेख्नका लागि माध्यम बने पनि कलमले कहिल्यै लेख्दैन, लेख्ने विचारले हो ।

तेस्रोपटक प्रधानमन्त्रीमा नयुक्त भएपछि वर्तमान प्रधानमन्त्री पुुष्पकमल दाहल प्रचण्डले मोबाइलमा लगाएको प्रतिबन्ध हटाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई निर्देशन जारी गरे । कर्मचारीले मानेनन् । उनीहरू निर्देशनभन्दा नीति परिवर्तनका लागि सरकारको मुख ताके । उता उपप्रधानसहित गृहमन्त्री बनेका रवि लामिछाने आफूले उक्त पदको शपथ लिएलगत्तै परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा गएर फटाफट राहदानी दिन र नागरिकलाई लाइनमा बस्न नलगाउन निर्देशन जारी गरे । यसको लगत्तै विभागले सफ्टवेयरमा समस्या देखिएकाले राहदानीको काम बन्द गरिएको सूचना जारी ग¥यो ।

प्रधानमन्त्री र उपप्रधानमन्त्रीका यी निर्देशनको पालना त भएन नै, उल्टै गृहमन्त्रीको कार्य क्षेत्रभित्र राहदानी विभाग कहिलेदेखि प¥यो भनेर प्रश्न तेस्र्याइएको पाइन्छ । उपप्रधान एवं भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठले एक सार्वजनिक सञ्चार माध्यममार्फत ‘हरेक मन्त्रालयका आ–आफ्ना सीमा र क्षेत्राधिकार हुन्छन्’ भन्दै गृहमन्त्रीका काम’bout आफूलाई भन्दा प्रधानमन्त्रीलाई सोध्न आग्रह गर्छन् ।

यी घटनाले सरकारले मौखिक आदेश त्यतिबेला दिनुपर्छ, जतिबेला कानुनले तोकेका कुरा लागू हुँदैनन् भन्ने सन्देश दिन्छन् । अर्थात् पहिला नीतिगत अप्ठ्याराहरू सुल्झाएपछि कार्यान्वयनको तहमा भएका कमीकमजोरीलाई सुधारका लागि निर्देश गर्न सकिन्छ । कानुनी अप्ठ्याराबीच मौखिक निर्देशन कार्यान्वयनका लागि कठिनाइ उत्पन्न हुन्छ भन्ने हेक्का सबैले राख्न जरुरी छ । मन्त्रीको काम सचिवालयका कर्मचारीजस्तो होइन । उसले त नीति बनाइदिने हो । अप्ठ्यारो परेको ठाउँमा सहजताका लागि मार्ग खोलिदिने हो । कुनै पनि हालतमा नीतिभन्दा निर्देशन पाको हुँदैन । पूर्वप्रशासक उमेश मैनाली सचिवलाई हप्काएर यो काम नगरे कारबाही गर्छु भनेर निर्देशन दिनु अव्यावहारिक भएको ठान्छन् । यसैलाई बेलायतमा त्यहाँको सरकार प्रमुखले ‘मलाई थाहा छ तपार्इंहरूले यो काम फत्ते गर्नुहुनेछ’ भन्छन् मैनाली थप्छन् ।

सुशासन नै धरापमा
प्रधानमन्त्री प्रचण्डको इमानमा शंका गर्ने ठाउँ छैन । सम्भवतः आगामी दुुईअढाइ वर्षको आफ्नो नेतृत्वमा विगतको अनुुभवसमेतका आधारमा यो सरकारले देखिने गरी काम गर्ने उनको दृढ अठोटलाई सम्मान गर्नैपर्छ । भ्रष्टाचार हुन नदिने र सुशासन कायम गर्ने उनले प्रतिज्ञा गरेका छन् । तर, संयुक्त सरकारको बाध्यात्मक परिस्थितिका कारण सुशासनसम्बन्धी उनको अठोट सुुरुमा नै धरापमा परेको छ ।

सर्वोच्च अदालतमा नागरिकतासम्बन्धी विवाद र त्यसका आधारमा सांसद पदको अयोग्यतासम्बन्धी मुद्दा चल्दै गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाइएको छ । जसको नागरिकतासम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ , उसैलाई सम्बन्धित विषयकै लाइन मिनिस्ट्रीको उच्च पदमा आसिन गराइनुले सुशासनको नारा गफमा मात्र सीमित भएको देखिन्छ । यद्यपि, उनीमाथि लगाइएको आरोप कति सत्य छ ? कति झूठ छ ? त्यसको सत्यापन सम्मानीत अदालतले दिने आदेशपछि मात्र एकिन हुनेछ । तर, अदालतमा विचाराधीन मुद्दा नै नटुगिँदै सोही मन्त्रालयको मन्त्री बनाइनुले भ्रष्टाचारको आरोपितलाई अख्तियारको प्रमुख बनाएजस्तै भएन र ? आममानिसहरू प्रश्न गर्छन् ।

‘उनीमाथिको मुद्दा आगामी माघ ११ मा पूर्ण सुनुवाइ हुने भएको छ । नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) मा ‘कुनै नेपाली नागरिकले आफू खुसी विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहने’ व्यवस्था छ ।

‘नीति’ नीतिका लागि नहोस्
यसैबीचमा संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गरी शीर्ष नेतासमक्ष पेस भएको छ । गतशनिबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारको साझा न्यूनतम कार्यक्रम तयार पार्न गठित समितिका संयोजक एमाले अध्यक्ष केपी ओलीसमक्ष उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वको कार्यदलले उक्त मस्यौदा बुझाएको थियो ।

मस्यौदामा सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन तथा संरचना फेर्ने, अति राजनीतीकरणका कारण असक्षम बनेका राज्यका संस्थालाई पुनर्संरचना गरी सक्षम र व्यावसायिक बनाउने र राज्यका निकायबीच प्रभावकारी समन्वय गर्ने भनिएको छ । कार्यसम्पादन सुनिश्चितताका लागि प्रभावकारी अनुगमन गर्ने पनि मस्यौदामा उल्लेख छ ।

साझा न्यूनतम कार्यक्रमको मस्यौदामा अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी त्यसको सुझाव र सिफारिसअनुरूप न्यायपालिकाको शुद्धीकरण एवं सुधार गर्नेसमेत भनिएको छ । यस्तै, आमनागरिकले सहज, छरितो र निष्पक्ष न्याय पाउने सुनिश्चित गर्ने उल्लेख छ । नागरिक प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउन पनि विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्ने मस्यौदामा जनाइएको छ ।

‘संविधान र ऐनमा उल्लेख गरिएका विषय पनि कार्यान्वयन नभएको वर्तमान अवस्थामा यसरी बनाइएका नीति कति कार्यान्वयन होलान् त्यो भने हेर्न बाँकी नै छ । सरकारका मन्त्रीदेखि राष्ट्रपतिसम्मले कानुन मिचेको आरोप लगाइएको यो अवस्थामा अनियमितता र स्वार्थ जोडिएका व्यक्तिले राजकाज सम्हालेको देखिँदा आशंका गर्ने प्रसस्त आधारहरू विद्यमान छन् । भ्रष्टाचार र अनियमिततामा दलको नै संरक्षण छ, । राज्यको सम्पत्ति सरकारकै योजनामा अमूक व्यापारिक घरानालाई पोस्ने काम भएको आरोप खेपेको विगतको सरकारकै पुनरावृत्तिको यो अवस्थामा यसरी पारित नीति कति कार्यान्वयन होलान् ? कसरी कार्यान्वयन गरिएला ? त्यो हेर्न बाँकी नै छ ।

संयुक्त सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाउने तथा कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउनेजस्ता निकै महŒवपूर्ण नीति अघि सार्नेगरी मस्यौदा तय भएको छ । सरकारले पूर्णता पाएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने नीति सरकारले अख्तियार गरेर नागरिकतासम्बन्धी वर्षौदेखिको अन्योल अन्त्य गर्ने लक्ष्य राखिएको छ ।

गत साता एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले ‘कर तिर्दासमेत घुस ख्वाउनुपर्ने अवस्था छ, कसरी सुशासन हुन्छ ?’ भनेर प्रश्न गरेका थिए । यस्तो अवस्थामा संयुक्त सरकारले राजस्व प्रशासनलाई थप चुस्त, दुरूस्त तथा करदातामैत्री बनाउने नीति अंगीकार गर्न कार्यदलले सिफारिस गरेको छ । कार्यालय सञ्चालन खर्च कटौती गरी मितव्ययिता अपनाउन सुझाव दिइएको छ ।

बितेको पाँच वर्षमा संघीयता कार्यान्वयनका लागि अत्यावश्यक निजामती ऐन, शिक्षा ऐनसमेत दिन नसकेका यिनै दलले आगामी एक वर्षभित्र नीतिमा उल्लेखित कामहरू कति पो गर्लान् ? विश्वास गर्न कठिन छ । तैपनि दृढ इच्छाशक्ति र सरकारमा सम्मिलित दलबीच ऐक्यभाव जुर्न सक्यो भने असम्भव पनि देखिँदैन । आजको आवश्यकता यी नीतिहरू कार्यान्वयन होऊन् भन्ने हो । विगतको गल्तीबाट पाठ सिक्दै अघि बढ्न सकून् भन्ने नै हो ।