रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ : प्रधानमन्त्री प्रचण्ड

रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ : प्रधानमन्त्री प्रचण्ड

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर गरेपछि आफूहरूले नयाँ विकल्प खोजेको बताउनुभएको छ।

बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधि सभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूलाई सोच्न बाध्य बनाएको बताउनुभएको हो।

सांसदको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अघिल्लो पटक संविधान विपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद् पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्नु थियो। तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छ।”

यो गठबन्धन लोकतन्त्र र संविधानको हितमा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ। उहाँलाई स्वतन्त्र सांसदको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ।”

प्रधानमन्त्री प्रचण्डले बालुवाटारको पछिल्लो वार्तामा गम्भीरताका साथ केपी ओलीसँग कुरा राखेको बताउनुभयो। राष्ट्रिय सहमतिको वातावरण बनाउन गरेको अनुरोध एमाले अध्यक्ष ओलीले अस्वीकार गरेको उहाँको भनाइ छ।

“नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा छ। हामी अहिले पनि राजनीतिक सङ्कट र चुनौतीकै बीचमा छौँ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा मलाई अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैमा राष्ट्रिय सहमतिको आधार थियो। बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ। तपाईँ र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाऔँ। तर, उहाँले मान्नुभएन। त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ।”

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पद ठूलो कुरा नभए पनि संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा भएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले भन्नुभयो, “मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद् विघटन गर्नु ठीक थियो भन्नुभयो। हामी संसद् विघटनको विपक्षमा थियौँ। हामी आफैँले त्यत्रो सङ्घर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ। संविधान र लोकतन्त्रविरुद्ध हामी जाने कुरा भएन। हामीले सोच्न बाध्य भयौँ। त्यस्तो नयाँ परिस्थिति बन्यो। आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एक ठाउँ उभिएका छौँ।”

राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक र राष्ट्रको अभिभावक भएको उहाँले सुनाउनुभयो। उहाँले अहिले संविधानको महत्त्व बुझेर निष्ठावान् नेतालाई उम्मेदवार बनाएको उल्लेख गर्नुभयो।

“हामीसँग विगतका तीता अनुभव छन्। राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक हो, राष्ट्रको अभिभावक हो। तर, विगतमा त्यस्तो भएन” प्रधानमन्त्रीले भन्नुभयो, “यसपटक हामीले संविधानको महत्त्व र अन्तर बुझेको, लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको निष्ठावान् नेता उम्मेदवार बनाएका छौँ। उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।”

कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, नेता महन्थ ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, दुर्गा पौडेल, अब्दुल खान लगायतले सम्बोधन गर्नुभएको थियो।