काठमाडौं । यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार २०७९’ गोरखापत्रका पत्रकार लोकबहादुर चौधरी (लक्की चौधरी) लाई प्रदान गरिएको छ। आइतबार शहीद यदुकुमार गौतमको २४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पत्रकार चौधरीलाई पुरस्कार प्रदान गरेका हुन् ।
गोरखापत्र अनलाइनका उपसम्पादक चौधरीलाई २० हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको हो। वि.सं. २०५५ साल फागुन २१ गते साहित्यकार तथा पत्रकार यदुकुमार गौतमको रुकुमको गरायलामा तत्कालीन नेकपा (माओवादी) ले हत्या गरेको थियो। उहाँको सम्झनामा यदुकुमार स्मृति प्रतिष्ठान रुकुमले २०५९ देखि पत्रकारिता पुरस्कार वितरण गर्दैआएको छ।
वि.सं २०५३ देखि कैलालीबाट पत्रकारितामा संलग्न चौधरी कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकोमा उच्च कदर गरी पुरस्कार दिने निर्णय गरिएको थियो।
थारु भाषाको प्रथम दैनिक पत्रिका ‘हमार पहुरा’ का सम्पादक प्रकाशक रहेर कैलालीबाट पत्रकारिता गर्नुभएका पत्रकार चौधरीले २०५९ चैत २९ देखि तत्कालीन थारु भाषाको साप्ताहिक पत्रिका ‘पहुरा’ साप्ताहिक प्रकाशन गरेका थिए । अहिले सो पत्रिका दैनिक रूपमा सञ्चालन हुँदै आएको छ।
पत्रकारिता, समाजशास्त्र तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी २०६६ देखि गोरखापत्र दैनिकमा कार्यरत छन् । यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ।
प्रतिक्रिया