काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले उत्पादन बढाउन तथा वस्तु विविधिकरण परियोजना निर्माण तथा सञ्चालन गर्न ९ अर्ब ६८ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
लगानी थप्ने विषयमा लगानी बोर्ड र डाबरबीच परियोजना समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितीमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट र डाबरका बिजनेस हेड हरकिरत सिंहले एमओयुमा हस्ताक्षर गरेका हुन्।
२०७८ माघ २५ मा बसेको लगानी बोर्डको ४९औं बैठकले डाबरको क्षमता अभिवृद्धि र उत्पादन विविधिकरण गर्न लगानी स्वीकृति गरेको थियो।
उत्पादन बढाउन डाबरले लगानी थप्न लागेको हो। जसअनुसार डाबरले विभिन्न बैंकबाट अल्पकालीन र दीर्घकालीन गरी ६ अर्ब ६० करोड रुपैयाँ ऋण लिन लागेको छ।
कम्पनीले ६ अर्ब १० करोड अल्पकालीन र ५० करोड रुपैयाँ दीर्घकालीन ऋण लिन लागेको हो। बाँकी लगानी भने डाबरको हुनेछ।
डाबर नेपालमा डाबर इन्टरनेसनल लिमिटेडको बहुमत स्वामित्व रहेको छ। औपचारिक रूपमा उत्पादन बढाउनका लागि प्लान्ट राख्न डाबरलाई बाटो खुलेको छ।
कम्पनीले नेपालमा पेयपदार्थ सौन्दर्य तथा स्वास्थ्यवर्धक सामग्री उत्पादन गर्दै आएको छ। डाबरले डाबर रियल जुस, ग्लुकोज, च्यवनप्रास, हेयर आयल, टुथपेस्ट, हाजमोला हनीलगायत वस्तु उत्पादन तथा निकासी गर्दै आएको छ।
नेपालमा ९७.५ प्रतिशत हिस्सा डाबर इन्टरनेसनल लिमिटेडको र बाँकी साढे २ प्रतिशत स्वामित्व नेपाली साझेदार रुक्मशमशेर राणाको छ। राणाको निधन भइसकेको छ। यसअघि उनी कम्पनीका अध्यक्ष थिए।
२०४६ को राजनीति परिवर्तलगतै स्थापना भएको डाबरले नेपालमा सन् १९९२ देखि दैनिक उपभोग्य स्वास्थ्यवर्धक वस्तुको उत्पादन गरी नेपालमा बिक्री वितरण गर्नुका साथै छिमेकी भारतमासमेत निर्यात गर्दै आएको छ।
सन् १८८४ मा एसके बर्मनले डाबर इन्डियाको स्थापना गरेका हुन्। भारतमा डाबरको आम्दानी वार्षिक करिव १ खर्ब करोड भारु रहेको छ।
डाबरले जुसलगायत पेयपदार्थ उत्पादनका लागि थप लगानी गर्न लागेको जानकारी दिएको छ। कम्पनीले ऋण लिनका लागि केयर रेटिङ्स नेपाल लिमिटेडबाट साख निर्धारण (रेटिङ) गरिसकेको छ।
प्रतिक्रिया