काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० मा समावेश गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादास्पद व्यवस्थाबारे छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समितिको गठन र त्यसको संरचना घोषणा गरे।
प्रतिनिधिसभा नियमावलीअनुसार गठित उक्त विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार रहेका छन् भने सदस्यहरूमा कांग्रेसकै सुशीला थिङ, नेकपा (एमाले) का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन कार्की रहेका छन्।
समितिलाई संघीय निजामती सेवा विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधिसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा कसरी र किन ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था मूल छलफल र अभिलेखभन्दा फरक रूपमा समेटियो भन्ने विषयमा अध्ययन तथा छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
साथै, प्रतिवेदन तयार गर्दा कानुनी तादात्म्यता नपुर्याइएको विषयमा पनि छानबिन गरी दोषीको संलग्नता यकिन गर्न र आवश्यक कानुनी कारबाहीको सिफारिस गर्ने जिम्मेवारी समेत समितिलाई दिइएको छ। प्रतिवेदन लेखनका क्रममा देखिएको कमजोरीको पुनरावृत्ति रोक्न आवश्यक उपाय र सावधानीबारे सुझाव दिनु पर्ने कार्यादेश पनि समितिलाई दिइएको छ।
सभामुख घिमिरेले समितिले गठन भएको मितिले २१ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने बताएका छन्। समितिले प्रचलित कानुनको अधीनमा रही आफ्नै कार्यविधि बनाएर काम गर्नेछ।
संसदमा विधेयक पेस हुनुअघि छलफल, सैद्धान्तिक सहमति र अभिलेख विपरीत परिवर्तन गरिएको भन्दै उठेको प्रश्नले राजनीतिक र प्रशासनिक वृत्तमा व्यापक चासो र बहस सिर्जना गरिरहेका बेला विशेष समिति गठन गरिएको हो।



प्रतिक्रिया