पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ: प्रधानमन्त्री ओली

पर्यटन विकासका लागि आत्मनिर्भरता र पूर्वाधार चाहिन्छ: प्रधानमन्त्री ओली

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र आत्मनिर्भरताको आवश्यकता औँल्याएका छन्।

‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सोमबार बोल्दै प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रको नेपालमा अपार सम्भावना रहेको बताउँदै त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरू नेपालमा छन्, त्यसमा हामीले ध्यान दिनुपर्छ। साइकल चढेर कोही आउँदैन, जहाज चाहिन्छ। राम्रा विमानस्थलहरू चाहिन्छन्, राम्रा विमानहरू चाहिन्छन्, विमान चढ्ने वातावरण चाहिन्छ। टुरिजम फस्टाउन पर्यटनमैत्री वातावरण चाहिन्छ।’

उनले नेपालका नागरिकलाई पौरखी जनशक्ति भन्दै विदेशिएका तीन लाख नेपालीहरूलाई उदाहरण स्वरूप प्रस्तुत गरे । ‘कामकै लागि तीन लाख मान्छे बाहिर छन्, काम गर्ने जाति हो भनेर नेपालीहरू दुनियाँमा प्रसिद्ध छन्,’ उनले भने।

प्रधानमन्त्री ओलीले विकासका लागि आत्मनिर्भरता अपरिहार्य रहेको उल्लेख गर्दै चीनको उदाहरण प्रस्तुत गरे। ‘अरूले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक्दैन, डेढ अर्ब जनसंख्यालाई कसले खुवाउने? त्यस्तो देशले विकास कसरी ग‍र्यो? आफ्नै पौरखले विकास भएको हो,’ उनले भने।

उनले नेपालको विकास पनि बाह्य सहयोग मात्रले सम्भव नहुने र आफ्नै मेहनत, नीति तथा स्रोतसाधनको भरमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।