काठमाडौं । प्रतिनिधि सभामा बोल्दै सांसद तथा चिकित्सक डा. सुनिलकुमार शर्माले स्वास्थ्य क्षेत्रमा देखिएको गम्भीर संकटबारे गहिरो चिन्ता व्यक्त गर्दै आन्दोलनरत चिकित्सकप्रति सरकारको उदासीन र गैरजिम्मेवार व्यवहारप्रति तीव्र आपत्ति जनाएका छन्।
उनले देशभर ओपीडी सेवा बन्द भएको र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरू कालोपट्टी बाँधेर सडकमा उत्रिनु परेको अवस्थालाई ‘गम्भीर र चिन्ताजनक’ भन्दै यसप्रति सरकार चुपचाप बस्नु लाजमर्दो भएको बताए।
डा. शर्माले उपचार गर्ने अधिकार दिने निकाय (नेपाल मेडिकल काउन्सिल) हुँदाहुँदै चिकित्सकहरूको मूल्याङ्कन उद्योग मन्त्रालयअन्तर्गतको गैर-चिकित्सकीय निकायले गर्ने कानुनी व्यवस्था हास्यास्पद, खतरनाक र लज्जास्पद भएको बताए।
उनले स्वास्थ्य क्षेत्रमा ढाँचागत सुधारको माग गर्दै भने, “२०४८ सालमा १,३०० डाक्टरको दरबन्दी थियो, तर अहिले जनसंख्या तीन गुणा बढ्दा पनि दरबन्दी जस्ताको तस्तै छ।” यो व्यवस्थालाई उनले असमान र अन्यायपूर्ण भने।
चिकित्सकहरूको योगदानलाई बेवास्ता गर्दै एक–दुई घटनाका आधारमा सबै डाक्टरलाई एउटै मापदण्डमा राख्नु गलत भएको भन्दै उनले भने, “डाक्टरहरू खसीबोका काट्ने कसाई होइनन्। उनीहरूले वर्षौंको अध्ययन, अभ्यास र अनुभवका आधारमा उपचार गर्छन्।”
हाल देशभर चिकित्सकहरू कानुनी व्यवस्थाको विरोधमा आन्दोलनरत छन्। उक्त कानुनअनुसार गैर-चिकित्सकीय निकायले चिकित्सकको कार्य मूल्याङ्कन गर्ने प्रावधान छ, जसको विरोधमा ओपीडी सेवा ठप्प पार्दै चिकित्सकहरू आन्दोलनमा छन्।



प्रतिक्रिया