काठमाडौं । एएमएस म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सियोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ।
काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कम्पनी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बर महिनामा हुने उक्त प्रदर्शनी दुई देशबीचको सांस्कृतिक आदान–प्रदान, पर्यटन प्रवर्द्धन, नेपाली परिकार तथा सामग्री प्रदर्शनी, साथै शैक्षिक तथा श्रम सम्बन्धी छलफलका लागि आयोजना गर्न लागिएको जानकारी दिइन्।
वल्र्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति समेत रहनेछ।
कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले यस कार्यक्रमले नेपाल–कोरिया सम्बन्ध थप मजबुत बनाउन र नेपालमा पर्यटक वृद्धि गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रम आयोजनाका लागि वल्र्ड पिस युनियन अर्गनाइजेसन, वल्र्ड पिस एम्बेसडर नेपाल, गुडविल एम्बेसडर योसेफ काङ र एएमएस म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष तामाङ लामाबीच औपचारिक समझदारी भएको छ।



प्रतिक्रिया