काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनको अत्यधिक भीडलाई ध्यानमा राख्दै महाशिवरात्रिकै जस्तो कडाईसाथ व्यवस्थापन गर्ने तयारी गरेको छ। विशेषगरी साउनको सोमबार र शनिबार लाखौँ श्रद्धालुहरू पशुपतिनाथको दर्शन तथा पूजाआराधनाका लागि उपस्थित हुने भएकाले कोषले विशेष तयारी थालेको हो।
कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीका अनुसार भीड व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्यसहित सञ्चालक परिषद्का सदस्यहरूलाई समेत अनुगमनमा खटाउने तयारी भइरहेको छ।
मिडिया सेन्टरको सुरुवात
धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन) सँगको अन्तरक्रियामा जोशीले साउनदेखि नै पशुपति क्षेत्रमा समाचार संकलनमा खटिने सञ्चारकर्मीहरूका लागि ‘मिडिया सेन्टर’ स्थापना गरिने प्रतिबद्धता जनाए। विगतमा भीडभाडका बेला पत्रकारहरूले जानकारी लिने र समाचार पठाउन कठिनाइ खेप्नुपरेको उल्लेख गर्दै उनले सूचना पहुँचमा सहजता ल्याइने बताए।
विशेष पर्वमा उच्च सतर्कता
हरितालिका तीज, बाला चतुर्दशी, महाशिवरात्रि, विक्रम संवत्को नयाँ वर्ष (वैशाख १), अक्षया तृतीया लगायत पर्वहरूमा पनि लाखौँ भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने भएकाले यस्ता अवसरमा पनि पूर्वतयारीसहितको व्यवस्था गरिने उनले जानकारी दिए।
संस्थागत सुधारको प्रतिबद्धता
सदस्यसचिव जोशीले कोषको कर्मचारी नियमावली छिटो लागू गर्ने पहल भइरहेको जानकारी दिए। हाल उक्त नियमावली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अर्थ मन्त्रालय पुगेको छ।
लामो समयदेखि बढुवा नपाएर कर्मचारीहरूमा निराशा देखिएको उल्लेख गर्दै जोशीले केही महिनाभित्रै विज्ञापनमार्फत पदपूर्ति प्रक्रिया थालिने बताए। साथै, पशुपति क्षेत्र विकास कोष ऐन संशोधनका लागि आवश्यक पहल हुने र सूचना प्रविधिको प्रयोगमार्फत नागरिक एपबाट सेवा दिने तयारी पनि भइरहेको उनले जानकारी गराए।
पशुपति क्षेत्रलाई अझ व्यवस्थित, श्रद्धालु मैत्री र प्रविधिमैत्री बनाउने दिशामा कोषको यो प्रयास महत्वपूर्ण हुने देखिएको छ।



प्रतिक्रिया