ल्हेन्दे खोलामा आएको बाढीले धुन्चे–टिमुरे सडक पूर्णरूपमा अवरुद्ध, १८ जना बेपत्ता

ल्हेन्दे खोलामा आएको बाढीले धुन्चे–टिमुरे सडक पूर्णरूपमा अवरुद्ध, १८ जना बेपत्ता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । चीनको केरुङ क्षेत्रतर्फ भएको अविरल वर्षापछि मङ्गलबार बिहान रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा ल्हेन्दे खोलामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल पूर्ण रूपमा बगाएको छ, जसका कारण दुई देशबीचको आवतजावत ठप्प भएको छ। साथै, रसुवागढीस्थित ईभी चार्जिङ स्टेशनमा ठूलो क्षति पुगेको छ र प्रारम्भिक जानकारी अनुसार करिब ७ देखि ८ वटा विद्युतीय गाडी बगाएको बताइएको छ।

रसुवा भन्सार कार्यालयको यार्ड र रसुवागढी जलविद्युत् आयोजना ड्याममा पनि गम्भीर क्षति पुगेको छ। घटनामा प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका छन्।

हालसम्मको विवरण अनुसार ३ जना सुरक्षाकर्मी, ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि विभिन्न प्रहरी इकाइका ९४ जना सुरक्षाकर्मी परिचालित गरिएको छ।

यसबीचमा, एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरी र सात जना स्थानीयवासी गरी ९ जनालाई सकुशल उद्धार गरिएको छ। गोसाइकुण्ड–५ अन्तर्गतको पासाङल्हामु राजमार्गको धुन्चे–टिमुरे खण्ड बाढीले पूर्णरूपमा अवरुद्ध बनाएको छ।

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरू र स्थानीय तहको समन्वयमा उद्धार कार्य तीव्र पारिएको छ भने घटनास्थलमा खोज तथा उद्धार कार्य अविरल रूपमा जारी छ।