बाढीले बागलुङमा विद्युत आयोजना बगायो, दुई घर विस्थापित

बाढीले बागलुङमा विद्युत आयोजना बगायो, दुई घर विस्थापित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ । अविरल वर्षासँगै आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापमा ठूलो क्षति पुर्याएको छ। कालुङखोलामा आएको बाढीले उपल्लो कालुङखोला लघु जलविद्युत आयोजना पूर्ण रूपमा बगाएको छ।

बुधबार बिहान आएको बाढीले आयोजनाको बाँध र पावरहाउस दुबै बगाएको स्थानीय गंगा आचार्यले जानकारी दिनुभयो। आयोजनाका प्राविधिक रामबहादुर क्षेत्रीले राति भागेर ज्यान जोगाएका छन्।

बाढीले पछिल्लो वर्ष निर्माण गरिएको स्टिल पुल पनि बगाएको छ। यसका साथै केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मरमा क्षति पुगेपछि पैयुथन्थाप क्षेत्रका करिब १३० घरधुरी अन्धकारमा परेका छन्।

बाढीले पैयुथन्थापकै खरेयाबोट क्षेत्रमा दुई घर परिवार विस्थापित भएका छन्। खोलाको बहावले नजिकैको धानबाली समेत नष्ट पारेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकाको टोली तत्कालै घटनास्थलतर्फ गइरहेको छ।

हालसम्म क्षतिको पूर्ण विवरण आउन बाँकी भए पनि भीषण वर्षा अझै जारी छ। घटनास्थलतर्फ प्रहरी टोली पनि परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिनुभयो।