दुई महिना अघि उद्घाटन, अझै सञ्चालनमा आएन राजविराजको बसपार्क

दुई महिना अघि उद्घाटन, अझै सञ्चालनमा आएन राजविराजको बसपार्क

साझा पेज
39
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज । चार दशकपछि निर्माण सम्पन्न भएको राजविराजको एकमात्र बसपार्क अझै पनि सञ्चालनमा आउन सकेको छैन। उद्घाटन भएको दुई महिना बितिसक्दा पनि बसपार्क सुनसान छ, सवारी साधनहरू सडकमै पार्किङ गरिँदै आएका छन्। यसले सर्वसाधारणलाई दैनिक आवतजावतमा अप्ठ्यारो बनाइरहेको छ।

सप्तरी सदरमुकाम राजविराजमा रहेको यो सुविधा सम्पन्न बसपार्क जेठ १५ गते उद्घाटन गरिएको थियो। करिब १६ करोड ३८ लाख रुपैयाँ लागतमा बनेको पार्क सञ्चालनमा आउन नसक्दा यसको उद्देश्य नै प्रश्नवाचक बनेको छ।

स्थानीय नरेश चौधरी भन्छन्, “बसपार्क सञ्चालनमै नआउने हो भने निर्माण गर्नुको औचित्य के? अहिले पनि गाडीहरू बजारकै मुख्य सडकमा राखिएका छन्, जसले पैदल यात्री र सवारी दुवैलाई हैरानी दिएको छ।”

यातायात व्यवसायी संघ सप्तरीका अध्यक्ष पशुपति साहका अनुसार, नगरपालिकाभित्रको राजनीतिक द्वन्द्व र समन्वयको कमीले व्यवसायीहरू मर्कामा परेका छन्।

यस विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नगरपालिकालाई जिम्मेवार देखे पनि अहिलेसम्म कुनै ठोस पहल नभएको बताए। “अब सम्बन्धित पक्षलाई बोलाएर छलफल गरिन्छ,” उनले बताए।

राजविराज बसपार्कको निर्माण सम्झौता २०७४ पुसमा भएको थियो भने काम २०७७ पुसमा सकिने भनिए पनि ६ पटक म्याद थप गर्दै निर्माण कम्पनीले गत वैशाखमा मात्र काम सम्पन्न गरेको हो।

अब प्रश्न उठिरहेको छ – यति ठूलो लगानीमा बनेको बसपार्क सञ्चालनमा कहिले आउला?